काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसले कुनै विचार, सिद्धान्त बेगर गठबन्धन बनाउँदा त्यस दलका कार्यकर्ताहरुमा निराशा छाएकाले एमालेले उनीहरुलाई साथ दिएको बताएका छन् ।
अन्तर्वार्ताका क्रममा महासचिव पोखरेलले कांग्रेसमा सुधार आओस् भनेर एमालेले उसका असन्तुष्ट उम्मेदवारहरुलाई साथ दिएको तर्क गरे ।
‘कांग्रेस पुरानो र एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने बलियो शक्ति हुँदाहुँदै पनि राजनीतिक वैचारिक जगमा उभिन सकेन, त्यसका कार्यकर्ताहरु यसैकारण नेतृत्वसँग निराश छन्’, पोखरेलले भने, ‘त्यसैले हामीले चितवन, डडेलधुरालगायतका ठाउँमा कांग्रेसका बागी उम्मेदवारलाई सघाउन आफ्ना उम्मेदवारलाई फिर्ता बोलायौं । खासमा ती बागी पनि होइनन्, ती त कांग्रेसको विचार बोक्ने मूलप्रवाहका उम्मेदवार हुन् ।’
उनलाई अनलाइनखबरले सोध्यो, ‘तपाईंहरु दुई साताअघिसम्म गठबन्धन गर्नु भनेको ढोडको वैशाखी टेक्नुसरह हो, एमाले एक्लै हिँड्छ भन्दै हुनुहुन्थ्यो । अहिले जसपा, राप्रपासँग गठबन्धन गर्न पुग्नु भो नि ?’
जवाफमा पोखरेलले त्यो गठबन्धन नभ तालमेलमात्र भएको जिकिर गरे । ‘गठबन्धन गरेको भए १६५ सिटमै समझदारी गरिन्थ्यो । तर हामीले मधेसमा र अन्य केही क्षेत्रमा मात्रै तालमेल गरेका हौं । हामी सत्ता गठबन्धनजस्तो विचारविहीन ढंगले अघि बढेका छैनौं । एमालेकै कार्यक्रम अनुरुप तालमेल गरेका छौं । हामीले कुनै साझा राजनीतिक कार्यक्रम बनाएका छैनौं ।’







