न्यायाधीशलाई सन्दीपको प्रश्न- गोपनीयता तोडेर करिअर र इज्जत सिध्याइयो, यसको उपचार पाउँछु कि पाउँदिनँ ?
– शिलापत्र संवाददाता | सोमबार, असोज २४, २०७९
न्यायाधीशलाई सन्दीपको प्रश्न- गोपनीयता तोडेर करिअर र इज्जत सिध्याइयो, यसको उपचार पाउँछु कि पाउँदिनँ ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने नाबालिका बलात्कारको आरोप लागेपछि प्रहरी हिरासतमा छन् । तर, सन्दीप र उनका कानुन व्यवसायीहरू भने नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष नाघेको दाबी गरिरहेका छन् । जसले गर्दा पीडित भनिएकी किशोरीको उमेरमा विवाद देखिएको छ ।

सन्दीपले न्यायाधीशसमक्ष पनि किशोरीको उमेरको प्रसंग उठाएको उनका अधिवक्ताले बताए ।

सोमबार जिल्ला अदालत काठमाडौंमा सन्दीपलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न उपस्थित गरायो । सन्दीपले न्यायाधीशसामु आफू पटकपटक निर्दोष रहेको कुरा दोहोर्‍याइरहे । सन्दीपले न्यायाधीशसमक्ष सबै कुरा राखेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए । उनले भने, ‘सन्दीपले आफू निर्दोष रहेको सम्पूर्ण जानकारी श्रीमान्‌सँग दिनुभएको छ । युवतीले बारम्बार आफू १९ वर्ष भएको बताएको पनि श्रीमान्‌सामु सन्दीपले राख्नुभएको छ ।’

पछि लाभ हुने भएको हुँदा उमेर घटाएर जन्मदर्ता गरेको नाबालिका भनिएकी युवतीले आफूलाई सुनाएको सन्दीपले अदालतमा बयान दिएका छन् ।

असोज २० गतेदेखि लागू हुनेगरी सन्दीपमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ । प्रहरीले भने अनुसन्धानका लागि हिरासतमा राख्न १० दिनको समय मागेको थियो ।

आफ्नो गोपनीयता भंग गरेको, इज्जत सकाएको भन्दै यसको कानुनी उपचाका लागि वैकल्पिक बाटो छ ? भन्दै सन्दीपले न्यायाधीशसामु प्रश्न गरेका थिए । उनका कानुन व्यवसायी घिमिरेले भने, ‘न्यायाधीशसमक्ष सन्दीप लामिछानेले सिलसिलाबद्ध घटनाको जानकारी गराउनुभयो । म निर्दोष छु भन्दै आफ्नो गोपनीयता भंग गरेको अवस्थामा, मेरो करिअरलाई नै सकाएको, इज्जत नै सकाएको अवस्थामा वैकल्पिक उपचार मलाई व्यवस्था छ कि छैन भनेर श्रीमान्‌लाई सोध्नुभयो ।’

उनी थप्छन्, ‘श्रीमान्‌ले मुद्दाका क्रममा यो विषयलाई उठान गर्न सक्नुहुन्छ भनेर भन्नुभयो ।’

किन भयो नाबालिकाको उमेरमा शंका ?

जन्मदर्ताअनुसार पीडित भनिएकी नाबालिका २०६२ सालमा जन्मिएकी हुन् ।

तर, ती नाबालिकाको जन्मदर्ता भने २०७५ साल मंसिर १८ गते मात्रै भएको देखिन्छ । त्यही जन्मदर्ताको प्रतिलिपि हराएपछि उनले २०७९ साल असार १४ गते पुनः प्रतिलिपि निकालेकी थिइन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई प्रहरी हिरासतमै भेटेका थिए । त्यसबेला सन्दीपले अध्यक्ष चन्दसँग आफू निर्दोष रहेको र आफूलाई सघाउन अपिल गरेका थिए । पछि चन्दले एक अन्तर्वार्ताका क्रममा नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष नाघेको दाबी गरेका थिए । पछि उनले सन्दीपले भनेकै आधारमा आफूले भनेको बताएका थिए ।

सन्दीप र उनका वकिलले भने जन्मदर्ता गराएको मितिलाई आधार मानेर नाबालिकाको उमेरमा प्रश्न उठाएका छन् । जन्मदर्तामा उल्लिखित मितिअनुसार उनी नाबालिग नै देखिन्छिन् । तर, २०६२ मा जन्मिएकी उनले २०७५ मा आएर मात्रै जन्मदर्ता गराएको विषयमा उनीहरूले प्रश्न उठाएका हुन् ।

सन्दीपका कतिपय शुभचिन्तकले ती किशोरीले उमेर घटाएर जन्मदर्ता गराएको हुन सक्ने पनि आशंका गरेका छन् । जसका कारण सामाजिक सञ्जालहरूमा यो विषयमा दोहोरो प्रतिक्रिया आइरहेको छ ।Shilapatra.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!