
माघ २३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूहरुले गरेको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको दाबी गरेका छन् । आज ओली समुहले नारायणहिटी दरबार अगाडी आयोजना गरेको जनसभालाई संवोधन गर्दै ओलीले अब को सक्कली र को नक्कली पार्टी ? भन्ने कुरा स्पष्ट भएको बताए ।
आफूहरु नै अब मुल नेकपा भएको पनि ओलीको दाबी छ ।
उनले आफ्नै नेतृत्वको सरकारले तीन वर्षमा डबल लेनको ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको, ४ सय वटा पुल बनाएको जस्ता थुप्ै विकासका काम गरेर समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न लागेको बताए ।
उनले आज पनि नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेर भन्दा ब्यग्य गरिए पनि अहिले गरीबलाई माया गर्ने, जनतालाई माया गर्ने सरकार भनेको आफ्नो सरकार भएको दाबी गरे ।
आफू प्रधानमन्त्री भए पछि चीनसँग पारवहन सन्धी गरेको, भारतसगँ विभिन्न सहमति गरेको, हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा पुर्याएको पनि उनले दाबी गरे ।
अब नेपालमा केही दिन पछि नै रेल सञ्चालन गर्ने पनि प्रधानमन्त्रीले बताए ।
केरुङ एक घण्टामै पुग्न सक्ने गरी टोखा छहरे सुरुङ खन्न लागिएको भन्दै चौतर्फी रुपमा विकास आफूहरुले अगाडी बढाएको बताए ।
अब हाम्रा युवाहरु विदेश जानु नपरोस् भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु गरिएको उनले बताए ।
प्रचण्डले जनवाद आउने सुन्दर सपना बाँडेर लडाएका लडाकुहरु आज पीडित भएको भन्दै ओलीले द्धन्दकालमा पीडित भएका सबैलाई हेर बिचार गर्नका लागि सरकारले कमिटि बनाएर काम गरीरहेको बताए ।
देशलाई समृद्ध बनाउन र भ्रष्टाचारमुक्त बनाउन आफूले अभियान चलाए पछि जनतालाई भ्रममा पारेर देशलाई अन्यत्र मोड्ने प्रयास भएको भन्दै अब अलमलिएका सबैलाई गोलबद्ध हुन अपील गरे ।
देशको सीमाना बचाउन संविधान संशोधन भए लगत्तै आफूलाई पदबाट हटाउने षड्यन्त्र भएको भन्दै प्रचण्ड माधव समुहलाई दुई चार जनाले पार्टी छाडेर गएको टिप्पणी गरे । ती बाहिर गएका दुईचार जना मान्छे हुन्जेल संवैधानिक आयोगहरुमा नियुक्त हुन नसकेको उनले बताए ।
आयोग बनेकोमा कत्रो पिर ? आयोग बन्ने नहुने ? दलित , जनजाति, मधेशीको आयोग बन्ने नहुने ? त्यो बनाउने वित्तिकै नेपाल बन्द , कस्तो षड्यन्त्र ? ओलीले भने ।
ओलीले आफूलाई काम गर्न नदिईएको दोहोर्याउदै, उहाँहरु केपी ओली हट्नु पर्छ, देशलाई भड्खालामा हाल्नु पर्छ भन्नु हुन्छ, आफ्नो महत्वकांक्षाका लागि प्रचण्ड माधव नेपालले जनतालाई धोका दिन लागिरहेको बताए ।
संसदलाई केही पनि गर्न नसक्ने पंगु अवस्थामा पुर्याएको, बहुमतको सरकार ढालेर, जोडजामको सरकार बनाउने राजनीति गर्न खोजेकाले ताजा जनादेशका लागि जनतामा जान संसद विघटन गरिएको ओलीले स्पष्ट पारे ।
ओलीले अस्थीरता तर्फ हैन, चुनाव तर्फ जाऔँ भन्ने नारा समेत लगाएका थिए ।
अब देश चुनावमा गएकाले कसको सरकार बन्नु पर्छ भनेर चुनावले तय गर्ने उनको भनाई थियो ।
अब नेपाली जनताको चेतनाको स्तर माथि उठीसकेको भन्दै अब लोकतन्त्र कसैले मास्न नसक्ने ओलीले दाबी गरे ।
प्रधानमन्त्रीले काम गर्न नपाए पछि संसद विघटन गर्ने अधिकार अन्य देशमा पनि रहेको भन्दै संसद विघटन संविधान सम्मत नै रहेको उनले बताए ।
नाटकबाजहरुका पछि लागेर देशलाई गलत बाटोमा जान दिन नहुने भन्दै युवाहरुले सचेत हुनु पर्ने बताए ।