फुङलिङ । जिल्ला फुटबल संघ ताप्लेजुङको नयाँ अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को विधानअनुसार आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति छनोट गर्न बुधबार भएको चुनावी साधारण सभाबाट चेम्जोङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । एन्फाले खटाएका केन्द्रीय पर्यवेक्षक रवीन्द्र जोशीको रोहबरमा भएको चुनावमा निवर्तमान अध्यक्ष साँवाले २ तथा चेम्जोङले ११ मत प्राप्त गरे । अध्यक्ष पदका लागि भएको मतदानमा एक मत बदर भएको थियो । यस्तै उपाध्यक्षमा नरेन्द्र लिम्बु, दिपेन आङ्बुहाङ, शैलेन्द्र गुरुङ निर्वाचित हुँदा अशोक थेवे पराजित भए ।
सदस्यमा खगेनसिंह हाङगाम, चन्द्र कुमार थेवे, लाक्पा शेर्पा, युवराज लाबुङ, मनोज लिम्बु, रुपेश लिक्बु लेछर्वो, दिल कुमार फुरुम्बु, अशेक लिम्बु र विन्दु प्रसाद तामाङ निर्विरोध चयन हुँदा महिला सदस्य अर्चना शेर्पा चुनिइन् । यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुर, खोटाङ, सिरहालगायत जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । बारा जिल्लामा शनिबार हुने तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो ।
एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त गर्छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ। epathivara







