१ चैत्र, ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित अधिकांश तरकारी पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
फुङ्लिङमा नगरपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उपभोक्ता अधिकार दिवसको अवसरमा संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश तरकारी पसल तथा मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका तरकारी पसलले सब्जीसँगै पेट्रोल समेत बोतलमा भरेर बिक्रि समेत गरिरहेको पाइएका छ । यस्ता पसलका कारण बजार क्षेत्र सधै आगलागीको सिकार हुने गरेकोछ ।

मंगलबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो । अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले ७ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताउनुभयो । अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उहाँले बताउनुभयो ।
म्याद नाघेको सामाग्री
फुङ्लिङ बजारको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यवस्तुमध्ये चकलेट बढी भेटिएको छ ।अनुगमनको क्रममा मसलापछि बिस्कुट, थुक्पा र चिउरालगायतका खाद्यवस्तुको म्याद गुज्रेको पाइएको हो ।अनुगमन गरिएकामध्ये दुई पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो।

मंगलबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको सहभागिता रहेको थियो ।
यो बजार अनुगमनलाई गाउँगाउँमा पु¥याइने प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यता केही उपभोक्ताले समय–समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महिना अनुगमन गरिदिन आग्रहसमेत गरेका हुन् ।








