१९ फागुन, विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको व्यवस्थापनमा विशेष भुमिका निर्वाह गर्न अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई अनुरोध गर्नुभएको छ । आप्रवासी नागरिक, मानव बेचविखनमा परि उद्धार गरिएका लगायत जोखिमपूर्ण अवस्थाका नागरिकलाई सशक्तिकरण गर्न र उनिहरुको सामाजिक सुरक्षामा ध्यान दिन उक्त संगठनलाई आग्रह गर्नुभएको हो ।
बुधबार मन्त्रालयमा नै भएको एक छलफलका क्रममा संगठनका प्रतिनिधिहरु संग यस्तो आग्रह गर्नुभएको हो । यहाँ रहेका आप्रवासी लगायत जोखिम अवस्थाका नागरिकको शिप र क्षमताको विकासमा आफ्नो मन्त्रालयले समेत आवस्यक समन्वयका साथ काम गर्ने बताउनुभएको छ । एक नम्बर प्रदेशमा आप्रवासीको संख्यामा धेरै रहेको र यहाँबाट समेत रोजगार लगायतका लागि बाहिरी मुलुकमा जाने क्रम बढ्दो रहेकाले उनिहरुको सामाजिक सुरक्षा र श्रमलाई व्यवस्थित बनाउन आवस्यक रहेकोमा उहाँको जोड छ ।
आप्रवासी कामदारहरु ठगिने, दुव्र्यवहारमा पर्ने, महिला कामदारहरु शोषणमा पर्ने एवम बेचविखनमा समेत पर्ने भएकाले यस्ता समस्याको हल हुने गरि प्रभावकारी ढंगबाट काम गर्न आवस्यक देखिएको बताउनुभयो । उक्त संगठनका प्रतिनिधिले समेत प्रदेश सरकारले आफ्ना गतिविधिमा विशेष सहयोग गर्नेमा विस्वास व्यक्त गरेकाछन् । अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले २००७ देखि आप्रवासी नागरिकको सामाजिक सुरक्षा, उनिहरुको श्रम व्यवस्थापन गर्ने लगायतका काम गर्दै आएको छ ।








