
ताप्लेजुङ, माघ १० गते । १० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ ।
पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए । ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए । एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए ।
प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो । थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ekantipur