११ असोज, ताप्लेजुङ ।
शिखर इन्स्योरेन्स कम्पनीले ताप्लेजुङको दोभान बजारमा रहेको चेतन स्टोर, पाथीभरा महाकालीका र कन्चनजङ्घा सटिङ सुटिङको बिमा दावी रकम सदरमुकाम फुङ्लिङ बजारमा रहेको शाखाबाट भुक्तानी गरेको छ । उक्त कम्पनीमा बिमा गरेको र गत फागुन १८ मा आगलागी भएकाले सोही अनुसारको दावी भुक्तानी माग भएको थियो ।

कम्पनीले आइतबार एक कार्यक्रमका बिच बिमा अनुसार क्षती वापत चेतन स्टोरलाई ३३ लाख २४ हजार १५ रुपैंया, पाथीभरा महाकालीकालाई १७ लाख ४० हजार २०० रुपैयाँ र कन्चनजङ्घा सटिङ सुटिङलाई ४ लाख ८७ हजार ७ सय ३९ रुपैयाँ दावी भुक्तानी गरेको शाखा प्रमुख उमेश अधिकारीले जानकारी दिनुभएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको तर्फबाट ताप्लेजुङ शाखा प्रमुख उमेश अधिकारीले व्यवसाय संचालकलाई चेक हस्तान्तरण गर्नु भएको हो ।
त्यस अवसरमा बोल्दै उहाँले जोखिम हस्तान्तरण नै बिमाको सिद्धान्त भएकाले बिमा गरेर जोखिमको दायित्व हस्तान्तरण गरि सुरक्षित रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा व्यवसायीहरु जय भट्टराई, भोलानाथ भट्टराई र नर बहादुर सुनामले कोरोना महामारीको समयमा पनि छिटो छरितो दावी भुक्तानी गरेकोमा शिखर इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।











