१३ भाद्र , ताप्लेजुङ । गत साउन २ गतेबाट बेपत्ता भएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ टिमूरे बस्ने सन्तबहादुर ईजमको मानव कंकाल फेला परेको छ ।
३२ वर्षिय ईजमको कंकाल आईतबार पोखरी सयपत्री सामुदायिक वनको भालुडाँडा भन्ने स्थानमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय बौद्धमान बस्नेतले जानकारी दिनुभयो । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कैलास कुमार अधिकारी नेतृत्वको टोली घटनास्थल गएको थियो ।
मानव कंकाल सहित भेटिएको टोपी र कपडाका आधारमा सन्तबहादुरका बुवा पदमबहादुरले आफ्नो छोराको पहिचान गरेको प्रहरीले जनाएको छ । सन्तबहादुरको मानसिक सन्तुलन ठिक नभएको बुवा पदमबहादुरले जानकारी दिनुभयो ।







