पाथीभरा क्षेत्रमा व्यवसायी तथा दर्शनार्थीले खानेपानीको सास्ती बेहोर्नुपर्ने समस्या समाधानका लागि सुरु भएको खानेपानी आयोजनाको ट्यांकी निर्माण भएको जग्गामा विवाद भएको छ ।
खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा/विष्णु जेभी इलाम र पाथीभरा केबलकार प्रालिबीच मुहाननजिक बनेको ट्यांकी निर्माण गरेको जग्गामा विवाद भएको हो । केबलकार कम्पनीका प्रतिनिधि मणि पोमू र सागर गौतमले पाइप फ्याँकिदिएको भन्दै ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि नन्दकुमार ओझाले माथिल्लो फेदी प्रहरी चौकीमा निवेदन दिएका छन् । पोमू र गौतमलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थित डढेली खोल्सीनजिक निर्माण गरेको ट्यांकी हटाउन केबलकार कम्पनीले अनुरोध गरेको पोमूले जानकारी दिए । पोमूले भने, “पाइप फ्याँकेका छैनौ । कम्पनीको जग्गामा नबनाउन अनुरोधमात्र ग¥यौं ।”

यता निर्माण कम्पनीले करिब ३८ लाख रुपैयाँ खर्चेर ट्यांकी निर्माण गरेकाले हटाउन नसकिने जनाएको छ । उक्त ट्यांकी ५० हजार क्षमताको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि ओझाले भने, “गत कात्तिकमा पनि जग्गा विवाद भएको थियो । तर इलाम कार्यालय इन्जिनियर र उपभोक्ता समिति संस्थाका अध्यक्ष र कोषाध्यक्ष आएर देखाएकै जग्गामा ट्यांकी बनेकाले हटाउन सम्भव छैन् ।” तर ट्यांकी सार्नका लागि उपयुक्त जग्गा र लागत बेहार्ने भए छलफल गर्न सकिने आधिकारिक प्रतिनिधि ओझाले बताए । गत फागुनमा ट्यांकी निर्माणको काम करिब ५० प्रतिशत सएिको थियो । तर उपभोक्ता संस्थाका अध्यक्ष गोपाल न्यौपाने र इलामको मौखिक अनुरोधमा जेठ १९ गतेसम्म ट्यांकी निर्माण पुनः स्थगित गरेको स्मरणसमेत गराएको छ । ओझाले भने, “करिब साढे ३ महिना पर्खियौं । तैपनी जग्गा देखाएनन् ।” प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जग्गा विवाद टुंगो लगाउन इलाम कार्यालयसँग सम्पर्क गरेको बताए । प्रजिअ पाण्डेले भने, “इलाम कार्यालयले मलेपको काम भएकाले सकेर आउँछौ भनेको छ । आएपछि विवाद समाधान हुनुपर्छ ।”
पाथीभरा ताप्लेजुङ सहलगानी खोनेपानी आयोजना निर्माण गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम र पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भएर जग्गा यकिन गरेको ठाउँमा ट्यांकी निर्माण गरेको हो । २०७७ असोज १८ गते ठेक्का सम्झौता गरेर काम सुरु गरेको र उक्त जग्गामा सरकारी लगानीमा संरचना बनेकाले अब उक्त जग्गाबाट ट्यांकी हटाउन नमिल्ने कार्यालयले (इलाम) जनाएको छ । कार्यालयले साउन ४ गते पाथीभरा केबलकार प्रालिलाई पत्र नै लेखेर प्रालिको कति नम्बर कित्तामा ट्यांकी वा टहरा पर्छ यकिन गरी उक्त ट्यांकी तथा टहरा हटाइदिनुपर्ने कारण खुलाउनसमेत भनेको छ । आयोजना प्रमुख सुरतलाल चौधरीद्वारा हस्ताक्षरित पत्रमा उपभोक्ता संस्थाले उपलब्ध गराएको जग्गामा संरचना निर्माण भइसकेको अवगत गराउँदै उपभोक्ता समिति संस्थालाई पनि बोधार्थ दिएको छ ।

यसैगरी कार्यालयले साउन ४ गते नै उपभोक्ता संस्थालाई पनि लेखेको पत्रमा सहमति भएको जग्गामा ट्यांकी निर्माण भइरहेको र केबलकार प्रालिले उक्त जग्गा आफ्नो भनी पत्रमार्फत हटाउन माग गरेकाले आवश्यक जग्गा व्यवस्थापन गरी समस्या समाधान गरी समयमै आयोजना सम्पन्न गर्न अनुरोध गरेको छ । इलाम कार्यालयले उपभोक्ता संस्था र केबलकार प्रालिलाई एउटै मिति (साउन ४ गते) उल्लेख गरेर पठाएको पत्रमा ट्यांकी निर्माण भइरहेको र ट्यांकी निर्माण सम्पन्न भएको उल्लेख गरेको छ । केबलकार प्रालिलाई भौतिक संरचनाको निर्माण सम्पन्न भएको र हटाउन सम्भव छैन भनेको छ भने उपभोक्ता संस्थालाई संरचना निर्माण भइरहेकाले जग्गा व्यवस्थापन गरी समयमै आयोजना सम्पन्न गर्न भनी पठाएको पत्रले कार्यालय नै अलमलिएको छ ।
इलाम कार्यालयको साउन ४ गतेको पत्र प्राप्त गरेलगत्तै उपभोक्ता संस्थाको साउन १० गते बैठक बसेको थियो । बैठकले संरचनामध्ये इन्टेक ट्यांकी भएको जग्गा र पानीको मुहानको जग्गा केबलकार कम्पनी र सिम्बू पाथीभरा सामुदायिक वनको परेको हुनाले संरचना निर्माण गर्न नसकिने निर्णय गरेको छ । जबकि उक्त क्षेत्रमा ट्यांकी निर्माण गरेको ठेकेदार कम्पनीलाई समेत बोधार्थ दिएको छ । आधिकारी प्रतिनिधि ओझाले भने, “इलामको पत्र ट्यांकी बनेको र ट्यांकी निर्माण भइरहेको भनेको छ । फेरि उपभोक्ता संस्थाले पनि निर्माण गर्न नसकिने भनी पठाएको जवाफले कामको तालमेल मिलेको छैन ।” संस्थाका अध्यक्ष तथा पाथीभरा क्षेत्र विकास समितिका (सरकारद्वारा गठित) सदस्यसमेत रहेको न्यौपानेका अनुसार ठेकेदारलाई क्षतिपूर्ति दिन्छौं निर्माण रोक्नु भन्दाभन्दै निर्माण गरेकाले समस्या भएको हो । ट्यांकी हटाउन लागत कसले बेहोर्छ त ? भन्ने जिज्ञासामा उपभोक्ता संस्थाका अध्यक्ष न्यौपानेले भने, “पानीको हाहाकार टार्न यतिका मिहिनेत ग¥यौं । विवादभन्दा चाँडो काम सकौं भन्ने हो ।” उपभोक्ता समितिले सुरुवातमा आफैले जग्गा छनोट गर्ने र बनेपछि फेरि आफैलाई थाहा नभएको पत्र लेखेर आफैमाथि प्रश्न गर्ने स्थिति बनेको छ ।

नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्येको एक पाथीभरा देवी मन्दिर क्षेत्रमा खानेपानी आयोजनाको (लिफ्टिङ प्रविधि) काम भने अन्तिम चरणमा पुगेको छ । करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम पाँच करोड ४६ लाख ६४ हजार ३५५ रुपैयाँ छ । २०७७ असोज १८ गते सम्झौता गरेर काम सुरु गरेको हो । आउँदो चैत १४ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने अवधि छ । ७५ प्रतिशत आर्थिक प्रगति सम्पन्न भएको छ । कुल लागतको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेहोर्ने २०७७ असार १० गते दुवै पक्षबीच भएको सम्झौता पत्रमा उल्लेख छ । आयोजनाको २० प्रतिशत श्रमदानवापत एक करोड ६४ लाख ४३२ रुपैयाँ बेहोर्नुपर्ने सम्झौता गरेको छ । यसैगरी उपभोक्ता समितिले आयोजनाको १२.६१ प्रतिशत अर्थात् एक करोड तीन लाख ६७ हजार ४८३ रुपैयाँ उपभोक्ता संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा दाखिल गर्नुपर्ने सम्झौतापत्रको २.१ मा उल्लेख छ । हालसम्म ४१ लाख रुपैयाँ खातामा जम्मा गरेको छ । आयोजनाको कुल लागत स्टिमेट आठ करोड २२ लाख १६ हजार ३६० रुपैयाँ (नेपाल सरकार ७० प्रतिशत र उपभोक्ता समिति ३० प्रतिशत) रहेको छ ।

-देवराज गुरुङ Karobar Daily

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!