११ साउन, ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङले माताहतका क्षेत्र, गाउँ÷नगर र वडा कार्य समितिलाई अधिवेशन संग सम्बन्धित कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । पार्टीको १४ औँ महाधिवेशनको पुर्व निर्धारित कार्य तालिका अनुसार वडा, गाउँ÷नगर, क्षेत्र र जिल्ला अधिवेशनका कार्यक्रम स्थगित गर्ने केन्द्रको निर्णय भएकाले माताहतका समितिलाई अविधेशनका कार्यक्रम स्थगित गर्न निर्देशन गरेको हो ।
आईतबार बसेको जिल्ला कार्य समितिको बैठकले अधिवेशनका कार्यक्रम स्थगित गरि स्वास्थ्य मापदण्डलाई पालना गर्दै संगठनका कार्यक्रमलाई भने निरन्तरता दिन माताहतका समितिलाई निर्देशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार आजै क्षेत्र, गाउँ÷नगर कार्य समितिलाई परिपत्र गरिएको पार्टी सचिव मंगलबहादुर मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिबाट अर्को कार्यतालिका नआए सम्म अधिवेशनका कार्यक्रम स्थगित हुने छ ।
यसैबीच बैठकले जिल्ला अस्पताल ताप्लेजुङलाई १ सय सैयाको बनाउँन सरकार संग माग गर्ने निर्णय समेत गरेको छ । यस्तै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारलाई सहज बनाउँन अस्पतालमा आवस्यक देखिएका संरचना, उपकरण साथै जनशक्ति व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति संग समन्वय गरि प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय भएको छ ।
जिल्लाका सबै नागरिकलाई पुग्ने कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकार संग माग गरिने काँग्रेसले जनाएको छ । यता सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रबीन्द्र अधिकारी विमानस्थल राख्ने यस अघिको सरकारको निर्णय खारेज गरि साबिककै नाम सुकेटार विमानस्थल कायम गर्न माग गर्ने पनि निर्णय भएको बताईएको छ ।
जिल्ला स्थित मदन भण्डारी राजमार्ग, ओलाङ्चुङगोला लोकमार्ग, कञ्चनजंघा लोकमार्ग लगायतका योजनामा बजेट वृद्धि गर्न सम्बन्धित मन्त्रालय संग माग गर्ने समेत निर्णय भएको छ ।







