१२ असार, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ थुकिमाका बासिन्दाले साउन १ गतेदेखि निशुल्क विद्युत उपभोग गर्न पाउने भएकाछन् । वडाभरका उपभोक्ताले खपत गरेको विद्युतको महसुल साउन १ गतेदेखि वडाले बेहोर्ने भएको छ ।
सर्वसाधरण नागरिकलाई सहज होस भन्ने उद्धेश्यले वडाले विद्युत महसुल निशुल्क गर्ने योजना बनाएको वडाध्यक्ष जयबहादुर खड्काले जानकारी दिए । “वडा अध्यक्षको दृष्टि, घरघरमा उज्यालो सृष्टि” भन्ने कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि २ लाख ४० हजार बजेट विनियोजन भएको खड्काको भनाई छ ।

यस्तै आगामी आर्थिक वर्षदेखि वडा अध्यक्ष विदुर संरक्षण कार्यक्रम समेत कार्यान्वयनमा आउने उहाँले बताउनुभयो । जस अन्र्तगत एकल पुरुषलाई मासिक ५ सय रुपैँया भत्ता उपलब्ध गराईने छ ।
यसैबीच थुकिमाको सान, एसईई प्रथमलाई सम्मान कार्यक्रम समेत कार्यान्वयन हुने वडाध्यक्ष खड्काले जानकारी दिनुभएको छ । जसका लागि ५० हजार रुपैँया विनियोजन भएको छ । एसईईमा प्रथम हुने थुकिमाका दुई वटा माध्यामिक विद्यालयका २ जनालाई सम्मान सहित पुरस्कृत गर्ने योजना बनाईएको उहाँले बताउनुभयो । वडाले बनाएका उक्त योजना तथा कार्यक्रमहरु हालै सम्पन्न मेरिङदेन गाउँपालिकाको नवौँ गाउँ सभाबाट पारित भएको जनाईएको छ ।







