३ असार, काठमाडौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो । आज बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि गर्ने निर्णय गरेको हो ।
यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनमा जुटेको हो । महाधिवेशन गर्नका लागि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती कायमै छ ।
क्रियाशील सदस्यता विवाद मिलाउन असार २० गतेभित्रको समय दिइएको छ । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समयमै टुङ्ग्याइने बताएका छन् । उनले छानबिन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा अधिवेशन र महाधिवेशन प्रभावित हुन नदिने बताएका छन् ।







