काठमाडौं – अस्वस्थ भएर अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले उपचारका लागि विदेश उड्नुअघि अस्पतालको शय्याबाटै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
नेता खनालले विज्ञप्तिमार्फत पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्तालाई विशेष आह्वान गरेका छन् ।
नेता खनाल नर्भिक इन्टरनेसनल अस्पतालबाट थप उपचारका लागि आजै भारतको नयाँदिल्ली गएका छन् ।
खनालले विज्ञप्तिमा लेखेका छन्, ‘एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौं भने मात्र हामी सफल हुन सक्छौं र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुटफुट र विभाजन होइन, एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’
खनालले देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको बताउँदै अन्तरसंघर्षको पराकम्प तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै अहिले एमालेसम्म परेको बताए ।
‘राष्ट्रिय एकता अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दूर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरू र तिनका नेताहरू बीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ ।
हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरू हल गर्नुपर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु,’ विज्ञप्तिमा उल्लेख छ ।
खनालले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याले डाक्टरहरूको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जान लागेको समेत बताएका छन् ।
‘सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरूमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।








