१ असार ,काठमाडाैँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको फैसला गर्ने तयारी गरेका बेला सत्तारुढ दल नेकपा एमाले र (नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र पक्ष) विपक्षी गठबन्धनमा अबको राजनीतिक मोडबारे चिन्ता बढेको छ । यसै सन्दर्भमा सोमवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगे ।
कोटेश्वर पुग्नेबित्तिकै सभापति देउवाले नेता नेपाललाई केपी शर्मा ओलीसँग के कुरा भएको हो, प्रष्ट पार्न आग्रह गरे । कोटेश्वर स्रोतले देउवाको भनाइ उदृत गर्दै भन्यो, ‘ओलीसँग मिलेर जाने विषयमा तपाईको कुरा के हो, त्यो प्रष्ट हुनुपर्यो ।’
जवाफमा नेता नेपालले भने – ‘ओलीसँग कुनै हालतमा मिल्न सकिंदैन । म विपक्षी गठबन्धनमै छु, विश्वस्त हुनुहोस् ।’ देउवाले एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि निरन्तर संवादमा रहेको विषय पनि उठाएका थिए । ‘तपाईंका पक्षमा रहेका नेताहरू ओलीसँग निरन्तर भेटघाटमा छन् भन्ने सुनिन्छ,’ देउवाले भने, ‘ओलीले संविधानलाई नै धरापमा पार्ने गरी कदम चालिरहेका छन्, पार्टी एकताका नाममा त्यसको अपजस तपाईंले लिनु राम्रो हुँदैन ।’
नेता नेपालले देउवालाई थप आश्वस्त बनाउन प्रयास गरिरहेका थिए । त्यतिकैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इन्ट्री भयो । राजनीतिक घटनाक्रमको समीक्षा गर्दै छलफलमा सहभागी सबै नेताहरूले विपक्षी गठबन्धन अझ कसिलो गरी अघि बढ्नुपर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
‘हाम्रो गठबन्धनलाई विभाजित गराउन र एक अर्कामा अविश्वास पैदा गराउन धेरै मान्छेहरू परिचालित भएका छन्,’ प्रचण्डले आफ्नो कुरा राखे, ‘त्यसैले अविश्वास सिर्जना हुने काम हामी गर्दै नगरौं ।’
प्रचण्डले नेता नेपालतिर इंगित गर्दै भने, ‘ओलीले तपाईंलाई कमजोर बनाउन हदैसम्म प्रयास गरिरहेका छन् । आफू कमजोर हुँदा एकताको कुरा गर्ने र बलियो हुँदा कारवाहीको सिलसिला चलाउने ओलीको चरित्रप्रति सजगताका साथ कदम चलाउनुपर्छ ।’
छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासमेत सहभागी थिए । छलफललगत्तै सुदूरपश्चिममा एमालेको नेपाल पक्षले ओली पक्षका ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बित गरिदियो ।
एमाले संसदीय दलमा बहुमतमा रहेको नेता नेपालले सुदूरपश्चिममा ओली पक्षलाई कारवाही गरेर आफू विपक्षी गठबन्धनमै रहेको विश्वास दिलाउने प्रयास गरेपछि यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्। यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए।
अध्यक्ष ओलीले खनाल-नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका थिए।







