काठमाडौं – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य नरोत्तम वैद्यले सभामा बोल्दै प्रधानमन्त्री केपी ओलीलाई मारेर आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा हंगामा खडा भएको छ ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीलाई यसरी नै छाड्ने हो भने देश खाइदिने भएकाले ओलीलाई मारेर आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

नाथुराम गोड्से भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । सांसद वैद्यले नेपालमा आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

सांसद वैद्यले प्रदेशसभा बैठकमा भनेका थिए, ‘अहिले नेपालको परिप्रेक्ष्यमा कुरा गर्दाखेरी ओली यसरी आइराख्या छ, आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । खाइदिन्छ है । त्यसैले मेरो आग्रह के भने कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ?’

सांसद वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि ओली निकट नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले आपत्ति जनाएका थिए ।

बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षड्यन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाइ चाहिन्छ । एमालेहरू सचेत बन ।’

वैद्यको अभिव्यक्तिपछि शुक्रवार राति कडा प्रतिक्रिया दिँदै एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले आफ्ना नेता ओलीको रक्षाका लागि जे पनि गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।

नेता बस्नेतले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेश सभामा खुल्लमखुल्ला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएका छन् ।

बस्नेतले भनेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् । त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडि सरकार सचेत हुनुपर्छ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौं समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’

बस्नेतले मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको धम्की दिए ।

यसैबीच, प्रधानमन्त्री ओलीलाई मारेर देश बचाउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई पार्टीले कडा निर्देशन दिएको छ । कांग्रेस पार्टीले शब्द फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस प्रवक्ता शर्माले सांसदको बोली आपत्तिजनक भएकाले आत्मालोचना गर्नुपर्ने बताए । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति नहुने प्रवक्ता शर्माले जनाए ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!