माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १४९ भन्दा बढी सांसद सशरीर सर्वोच्च अदालत जाने बताएका छन् ।
‘१४९ प्लस अरु केही साथीहरु पनि थपिनु भएको छ । रिटको ड्राफ्ट तयार हुदैछ’, अध्यक्ष प्रचण्डले आइतबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिने क्रममा भने, ‘बेलुकासम्म त्यो टुंगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको
सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध बहुमत सांसद सशरीर अदालत पुगेर न्याय माग्ने तयारीमा आफुहरु जुटेको बताए ।
‘फिजिकल्ली नै बहुमत सदस्य उपस्थित भएर अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ । डकुमेन्टहरू, नागरिकताहरुको प्रतिलिपि तयार गर्ने काम करिव करिव सकिन लागेको छ,बेलुकासम्म सकिन्छ’, प्रचण्डको भनाइ छ ।
उनले गत शुक्रबार विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको सांसदहरुले हस्ताक्षर फिर्ता लिएको भन्ने सत्य नभएको भन्दै बरु अहिले त्यो संख्या बढ्न लागेको दावी गरे ।
‘कोही कन्फ्युजनमा नपर्नुहोला, अस्ति हस्ताक्षर नगर्ने पनि थपिनु भएको छ । घटेको छैन’,प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्त गर्न बुझाएको पत्रलाई राष्ट्रपतिले अस्वीकार गर्दै सोही दिन संसद विघटनको घोषणा गरेकी थिइन् । उक्त घोषणा असंवैधानिक भन्दै विपक्षी गठबन्धन अदालत जान लागेका हुन् ।
उनीहरुले तयार पारेको रिटमा बहुमत र प्रक्रिया काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्ने भएका छन् ।
Ratopati








