ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण–सिकाइ सामग्री निर्माणसम्बन्धी सातदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीन वडामा कार्यरत १५४ जना शिक्षकलाई उक्त तालिम प्रदान गरिएको हो।
गत बिहीबारदेखि सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका–३ स्थित सिंवा माध्यमिक विद्यालयमा बुधबार सम्पन्न भएको हो। तालिममा फक्ताङलुङ गाउँपालिका–१ सावादिन, वडा–२ खेजेनिम र वडा–३ लिङखिमका विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिम अवधिभर शिक्षकहरूले कक्षाकोठामा प्रयोग गर्न सकिने विभिन्न शिक्षण–सिकाइ सामग्री निर्माण गरेका थिए। तालिमको अन्त्यमा ती सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको रिड नेपाल ताप्लेजुङका प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।
तालिममा पहिलोपटक सहभागी भएका शिक्षक वीरेन्द्र दाहाल र निर्मला शेर्पाले तालिम अत्यन्त उपलब्धीमूलक रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीप कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रिड नेपालको कार्यक्षेत्र विस्तार भएसँगै हाल फक्ताङलुङ गाउँपालिकाका सातवटै वडा तथा सिरिजङ्गा गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ गरी कुल १० वटा वडा कार्यक्षेत्रमा समेटिएका छन्।
तालिम समापन समारोहमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास), शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, वडा नम्बर ३ का वडाध्यक्ष आइतराम लिम्बू तथा सिंवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र लिम्बूको उपस्थिति रहेको थियो।
रिड नेपालको कार्यक्षेत्रमा हालै समेटिएका फक्ताङलुङ गाउँपालिकाका तीन वडामा कार्यरत शिक्षकहरूका लागि यो पहिलोपटक आयोजना गरिएको तालिम भएको रिड नेपालकी शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो।







