ताप्लेजुङ, मंसिर ६ ।
ताप्लेजुङको मिक्वाखोला–४, थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी मंसिर १८ गतेदेखि सुरु हुने भएको छ। यक्थुङ लिम्बू समुदायको महान पर्व चासोक तङ्नाम (न्वागी पुजा) को उपलक्ष्यमा थलङ स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
शनिबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको थियो। खेलकुदमार्फत स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र थलङ क्षेत्रको मौलिक संस्कृति—परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मणी कुमार थलङले जानकारी दिनुभयो।
प्रतियोगिताको विजेताले नगद १ लाख ५२ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले १ लाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी, वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर र हाई स्कोरर प्रत्येकलाई ५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ।
हरेक खेलका म्यान अफ द म्याच बनेका खेलाडीले २ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितामा ८ टोलीहरूको सहभागिता रहनेछ। मंसिर १८ देखि २२ गतेसम्म जारी रहने खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम मार्फत हुने खेल संयोजक मेतीहाङ थलङ (बिके) ले जानकारी दिनुभयो।
उद्घाटन समारोहमा यक्थुङ समुदायका सांस्कृतिक पहिचान झल्काउने केलाङ (च्याब्रुङ नाच), यालाङ (धान नाच), येबा लाङ (विजुवा नाच) र स्याब्रु नाच प्रस्तुत गरिनेछ। साथै, न्वागी पर्वअनुरुप फलफूल वितरण पनि गरिने क्लबका सचिव पुर्ण थलङले बताउनुभयो।







