ताप्लेजुङ – ताप्लेजुङमा करिब २ दिनको अवधिमा ३२.७ मिलिलिटर वर्षा भएको छ ।
मंगलबार राति देखि बिहीबार बिहान करिब ९ बजेसम्ममा ३२.७ मिलिलिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख डेभिट ढकालले बताउनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी गएराति २४.२ मिलिलिटर वर्षा भएको छ । यो सहित पछिल्लो २४ घण्टा (बुधबार बिहान ८ः४५ देखि बिहीबार बिहान ८ः४५ सम्म)मा भने ३०.२ मिलिलिटर वर्षा भएको कार्यालयले जनाएको छ । आज पनि ताप्लेजुङ सहित देशका बिभिन्न भुभागमा वर्षा तथा उच्च हिमाली भेगमा हिमपाताको सम्भावना रहेको मौसमबिदहरुले बताएका छन् ।
खेति गर्ने कृषकहरुका लागि भने यो वर्षाले राहत मिलेको छ । हिउँद तथा सुक्खायाम सुरु भएसँगैको खडेरीले किसानहरुले बाली लगाउन पाएका थिएनन् भने अर्काेतर्फ वन डढेलोले ग्रसित बनाएको थियो । समयमै वर्षा नहुँदा बाली नगाउन नपाएकाले किसानहरु चिन्तित भएका थिए । अबभने यो वर्षाले केही मात्रामा भएपनि राहत मिलेको कृषकहरु सुनाउछन् । बिशेष गरेर सुक्खायामको समयमा नगदे बालीको रुपमा रहेको अलैँची खेतीलाई अत्याधिक प्रभाव पारेको थियो । अहिले गाउँ–गाउँमा मकै छर्ने सिजन पनि चलिरहेको छ । समयमै वर्षा नहुँदा कतिपय किसानहरुले मकै छर्ननै पाएका थिएनन् । २ दिन अघिदेखि भएको वर्षापछि किसान उत्साहित हुँदै बाली बाली लगाउने सुरसार गर्न थालेका छन् ।
वर्षाले वनमा लागेको डढेलोलाई समेत नियन्त्रण गर्न टेवा पु¥याएको छ । जथाभावी रुपमा वनमा लागेको डढेलो बस्ती सम्मै प्रवेश गर्दा ताप्लेजुङमा करिब आधा दर्जन भन्दा बढी घरहरुमा क्षति समेत पुगेको थियो । जंगलको आगो बस्तीमा प्रवेश गर्दा छिमेकी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिकामा २३ ओटा घर र ५ ओटा गोठ जलेर नष्ट भएका छन् । यो वर्षापछि अब केही दिनका लागि आगलागीको जोखिम समेत न्युनिकरण भएको छ । रेडियो तमोर







