८ चैत, काठमाडौं । मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । काठमाडौं उपत्यकामा आज बिहान पानी पर्न रोकिए पनि दिउँसो एक/दुई बजे पछाडि वर्षा सुरु हुने मौसमविद पुडासैनीले बताए ।

उनका अनुसार आज दिनभरी नै देशका अधिकांश स्थानमा बादल लाग्ने छ । ‘बुधबार र बिहीबारको तुलनामा शुक्रबार अलिकति सुधार जस्तो हुन्छ । तर उल्लेखनीय सुधार हुँदैन,’ मौसमविद पुडासैनीले भने, ‘शनिबार फेरि वर्षा हुने छ ।’

शनिबारको दिन कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली (इन्ड्युस्ड लो प्रेसर सिस्टम)को प्रभाव छ । यसैको प्रभावले बदली र वर्षा भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणाली कम सक्रिय छ । त्यसैले अहिलेको बदली र वर्षा हुनुमा बिहार आसपास रहेको न्यून चापीय प्रणाली बढी जिम्मेवार छ ।

सुदूरपश्चिम र कर्णालीमा भने तुलनात्मक रुपमा कम प्रभाव छ । त्यसैले ती प्रदेशमा बादल लागे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविद पुडासैनीले बताए ।

धनकुटाको पाख्रिबासमा सबैभन्दा धेरै वर्षा

काठमाडौंको बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालय
गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरकै गोदावरीमा २०.२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३, बबरमहलमा १२, कीर्तिपुरमा र धाप ड्याममा ११.८ तथा कपनमा ९.६ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ८ः४५ बजे वर्षाको आधिकारिक विवरण सार्वजनिक हुने भएकाले त्यो समयमा तथ्याङ्कमा केही फरक पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!