७ चैत्र, ताप्लेजुङ ।
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा आउने भक्तजनबाट गुनासो नआउने गरी काम गर्न माताहतका कर्मचारीलाई निर्देशन गरेको छ । पहिले कर्मचारीको सल्लाह र सुझाव लिएको क्षेत्र विकास समितिले तीर्थयात्रीको सहजताका लागि प्रभावकारी रुपमा काम गर्न माताहतका सबै कर्मचारीलाई निर्देशन गरेको हो ।

बुधबार मन्दिर सहित कार्यालयका सबै कर्मचारी सहभागी गराई आयोजना गरीएको बैठकमा पाथीभरा आउने भक्तजनको सहजताका लागि गर्न सकिने कामका विषयमा छलफल भएको थियो । उक्त छलफलका क्रममा पाथीभराको सिजन समेत सुरु भएकाले सबैलाई जिम्मेवार भएर लाग्न सुझाव गरीएको समितिले जनाएको छ ।

तीर्थयात्रीको संख्या बढे सँगै मन्दिर क्षेत्रको सरसफाई, पुजा व्यवस्थापन, खानेपानीको प्रवन्ध सहितका कार्यमा थप जनशक्तिको व्यवस्थापन सहित केन्द्रीत हुनुपर्ने आवश्यकता देखिएकाले कर्मचारीको जिम्मेवारी बाँडफाँड गरी कार्य क्षेत्रमा खटाईएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । यस्तै बैठकले पाथीभरालाई व्यवस्थित गर्नका लागि विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको बताईएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमूख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमूख अमिर मादेन, सहायक प्रमूख जिल्ला अधिकारी टंक भट्टराई, क्षेत्र विकास समितिका सदस्य शम्भू प्रसाद गौतम, तेजबहादुर खत्री, पृथ्वीमान पालुंवा, चेतराज घिमिरे, मालपोत कार्यालय प्रमूख निर्मल शेर्पा लगायतले आफ्नो विचार सहित सु्झाब राखेका थिए । यस्तै बैठकमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभराको वर्तमान अवस्था सहितको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।







