ताप्लेजुङ, १४ कार्तिक। राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङले विश्वलाई कञ्चनजंघाको सन्देश प्रवाह अभियान कार्यक्रम सम्पन्न गरेको छ । “प्रकृति जोगाऔँ, अर्को पुस्तालाई पनि हिमाल देखाऔँ” भन्ने नारा सहित उक्त कार्यक्रम सम्पन्न गरेको हो । कञ्चनजंघाको प्राकृतिक सौन्दर्य संरक्षण र जलवायु परिवर्तनबारे सचेतना जगाउने उद्धेश्य सहित भएको उक्त अभियानमा साताव्यापी कञ्चनजंघा पदमार्गको भ्रमण लगायतका कार्यक्रम भएको महासंघ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा कोशी प्रदेशका पुर्वमन्त्री तिलकुमार मेन्याङ्बो लगायत सहभागी हुनुभएको थियो । कञ्चनजंघाको आधार सिविरमै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री मेन्याङ्बोले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न नेपालले विश्वको ध्यानाकर्षण गराउन आवस्यक भएको बताउनुभएको छ ।
प्रकृतिको दिगो संरक्षणमा जोड दिने उद्धेश्यले आयोजना भएको अभियानलाई निरन्तरता दिने राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङले जनाएको छ । पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष निरौलाले बताउनुभयो । कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम कार्तिक ८ गतेदेखि सुरु गरिएको थियो ।







