१५ भाद्र, ताप्लेजुङ । ताप्लेजुङमा विहिबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकप अन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २-० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको १० औं मिनेटमा रेडहर्षका युवराज राईले १ पहिलो गोल गर्नु भएको थियो भने ५८ औं मिनेटमा आसिस राईले दोस्रो गोल गर्नु भएको थियो । यस अघि हिजो भएको खेलमा घरेलु टीम मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट बिकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसै बीच भोलि दिउँसो १ बजे पछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ ।
लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लब सहित ८ टिम सहभागी भएकाछन् । वि.स.२०२९ सालदेखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता बिगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यस अघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो ।
भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरङले बताउनुभएको छ ।







