लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकु भञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ। पहिरोले बगाई बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले बताए। ‘पहिरोमा पुरिएर खुट्टा मात्र देखिएको अवस्थामा केशरबहादुर मृत भेटिएको दुःखद् खबर आयो’जिल्ला प्रहरी प्रमुख लिम्बुले भने।

घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको स्थानीय कमल कडरियाले जानकारी दिए। घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए।

यसअघि शनिवार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगिमाँया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता नै छन्। पहिरोमा परी बेपत्ता भएका मध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ। कडरियाका अनुसार अहिले पनि मेहेलेका बिभिन्न क्षेत्रमा पहिरो गईरहेको छ। उनका अनुसार मेहेलेको निलगिरी मावि रहेको स्थान पहिरोबाट केहि सुरक्षित रहेको देखेपछि जोखिम प्रभावित क्षेत्र त्यहाँ आउन चाहन्छन्, तर सो स्थान सम्म आउन पनि पहिरो,खोल्सामा बढेको पानी र अबिरलको बर्षा बाधक बनेको उनले जानकारी दिए।

सांसद भट्टराईको टोलीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेशकुमार भट्टराईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटि पहिरो तथा बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ।

सांसद भट्टराईले घाइतेको उद्धार, बेपत्ताको खोजी र पीडितलाई राहतको व्यवस्थाका लागि शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गरेको जानकारी दिए। भट्टराईको नेतृत्वमा प्रतिनिधिसभाका सांसद द्धय उर्मिला थेबे र लीलादेवी बोखिम,संबिधानसभा सदस्य भूपेन्द्र थेबे,प्रदेशसांसद खगेनसिंह हाङ्गाम,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा सहितका जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गरेको छ। यसअघि प्रदेश सरकारका मन्त्री तिलकुमार मेन्याङ्वो सहितको प्रदेश सुरक्षा अधिकारीको टोली आइतवारै पीडितको उद्धार तथा प्रभावितको अवस्था बुझ्न हेलिकोप्टरबाट आएपनि खराव मौसमका कारण हेलिकोप्टर बस्न नसकी फर्किएको थियो।

Nagarik News – Nepal Republic Media

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!