४ असार, ताप्लेजुङ । निरन्तर भारी वर्षाका कारण यतिखेर ताप्लेजुङका विभिन्न स्थानहरुमा पहिरोको उच्च जोखिम बढेको छ । सिदिंवा गाउँपालिकाको मेहेलेमा मात्र पहिरोले बगाएर २ जनाको मृत्यु भइसकेको छ भने ४ जना बेपत्ता भएको खवर प्राप्त भएको छ ।

यता दोस्रो ठुलो व्यापारीक केन्द्र मानिएको दोभान बजार पनि उच्च जोखिममा रहेको स्थानियले जानकारी दिएका छन । तर यस बखत उद्धारका लागि हेलिकप्टर भने विराटनगरमा राख्न प्रधानमन्त्रीले रक्षा मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

विराटनगरमा उद्धारका लागि हेलिकप्टर राखिनु कतिको जायज हो ? ताप्लेजुङमा नै उद्धारका लागि हेलिकप्टर राखिनु पर्ने होइन ?

ताप्लेजुङको बाहिरी सडक सम्पर्क टुट्यो

छिमेकी जिल्ला पाँचथर, तेह्रथुम र संखुवासभासँग सडक सञ्जालले जोडिएको हिमाली जिल्ला ताप्लेजुङसँगको सडक सम्पर्क आइतबार बिहानदेखि टुटेको छ । तमोर नदीमा आएको बाढीले तेह्रथुम र संखुवासभासँगको सम्बन्ध टुटाएको छ । हेवाखोलामा पुल बग्दा पाँचथर सदरमुकाम फिदिम हुँदै इलाम–झापा झर्ने यातायात अवरुद्ध भएको छ ।

बाढीले पाँचथर–तेह्रथुम जोड्ने तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ । मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल बाढीले बगाएपछि मानिस र गाडी पारिका पारि र वारिका वारि नै अल्झिएका छन् । झापाको बिर्तामोड र सुनसरीको धरानबाट खाद्यान्नसहित दैनिक उपभोग्य र निर्माणका सामग्री बोकेका गाडी बाटैमा रोकिएका छन् । उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख अमिन्द्र खड्काले सडक नियमित रूपमा सञ्चालन हुन एक साताभन्दा बढी लाग्न सक्ने बताए । ‘हेवाखोलाको पुल बन्न समय लाग्ने भए पनि माझीटारको बेलिब्रिज चाँडो बन्ने भएकाले त्यसलाई जोड दिनुपर्ने भएको छ,’ उनले भने ।

वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने दोभान–साँघु–गुफा हुँदै वसन्तपुर जोड्ने सडक र दोभान–निगुरादिन हुँदै तेह्रथुमको संक्रान्ति जोड्ने सडकको दोभान खण्ड पनि अवरुद्ध भएकाले ताप्लेजुङबाट यात्रुवाहक सवारीसाधन ठप्प छन् । सडक कार्यालयका अनुसार वर्षा थामिएर खोला घटे दोभान सडक चार/पाँच दिनमा सञ्चालन गर्न सकिन्छ । तर, यो सडकबाट ढुवानीका साधन चलाउन सहज नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!