ताप्लेजुङ — फुङलिङ नगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना आफैं हटाउन अन्तिम सात दिनको समय दिएको छ ।
ती संरचना वैशाख २ गतेसम्म नहटाए सडक ऐन अन्तर्गत हुने उल्लेख गरिएको छ ।
चैत २६ गतेको मितिमा जारी सूचनामा ‘यस अघि नै पटक–पटक सूचना तथा जानकारी गराइ सकिएको हुँदा यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा अनिवार्य रुपमा हटाउन हुन अन्तिम पटक यो सूचना जारी गरिएको छ’ भन्ने व्यहोरा उल्लेख छ ।
सूचनामा सडकको बीच भागदेखि दायाँ–बायाँ साढे सात/साढे सात मिटर खाली गर्न भनिएको छ ।नगरपालिकाले यसअघि ३५ दिने, १५ दिने र ७ दिने सूचना गरेको थियो । यो सूचना हुँदा कतिपय नगरबासीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नगरपालिकाले हटाउने क्षेत्रको रेखांकन समेत भएको जनाएको छ । रेखांकनको समयमा पनि नगरबासीले अवरोध गरेका थिए ।
सदरमुकाम भित्रको सडक अन्यन्तै साँघुरो भइ दुर्घटना समेत बढेको भन्दै नगरपालिका प्रमुख अमिर मादेन निर्वाचित भएपछि सडक बिस्तारको योजना अघि बढाएका छन् । यसका लागि उनले सडक डिभिजन कार्यालयसँग पनि समन्वय गरेका छन् । ekantipur







