ताप्लेजुङमा मेची राजमार्गअन्तर्ग मापदण्डभित्रका अस्थायी टहरा हटाउन सडक विभाग इलाम र फुङलिङ नगरपालिकाले ३ पटक सार्वजनिक सूचना गर्दासमेत स्थानियले हटाएनन् । संरचना नहटाएपछि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेन स्यंम फिल्टमा उत्रिएर रेखाङकन गरेर भत्काउन अनुरोध गरेका छन् । दायाँ बाया साढे ६ मिटरका दरले चौडाई कायम गर्नेगरि १५ दिनभित्र हटाउन नगरपालिकाले अनुरोध गरेको छ ।
मेची राजमार्गअन्तर्गत मापदण्डभित्र टहरा मात्र भत्काउने तर पक्की घरचाहिँ किन नभत्काउने भन्दै समान मापदण्ड र असमान व्यवहार भन्दै स्थानियले विवाद गरेका छन् । कतिपयले सडक आफ्नै लागि हो भन्दै भत्काउन तयार भएपनि भत्काउन नहुने अडान बोकेका छिमेकीको अनुरोधले मौन छन् । सदरमुकामभित्रका दर्जनौ घर टहरा भत्किने र आफूहरुको विचल्ली हुने स्थानियले आक्रोश पोखेका छन् ।
यता नगरपालिकाको अनुरोधलाई स्विकार गर्दै सदरमुकामको हेलिप्याडमा घर धनिले नै घर भत्काउन सुरु गरेका छन् । राजमार्गमा पर्ने र नापीले छुने नक्साङ्कन भए बमोजिम घर धनिले नै घर भत्काउन सुरु गरेका हुन।
सडक विभाग इलामको अनुरोधमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा अस्थायी टहरा भत्काउने तयारी गरेको छ । सडक ऐन लागू गर्नुपूर्व बनेका घर र पछि बनेका घरले सडकको भाग छाड्दा जग्गा नै सकिने हुँदा गंम्भिर समस्या उत्पन्न हुने स्थानिय बताउँछन् ।
सडक ऐन २०३१ अनुसार मेची राजमार्गको चौडाई ४२ मिटरको छ । यद्यपी सरोकारवालाको सुझावमा सदरमुकामभित्रको सडक १२ मिटर मात्र कायम गर्नका लागि नगरपालिका र घरधनीसँग सहमती भएको छ । मुल सडक १२ मिटर र दुवै साइडमा डेढ मिटर कायम गरी संरचना बनाइने छ ।
चीनसँग सिमा जोडिएको तमोर करिडोर सडक पनि भएकाले सदरमुकामहुँदै सिमा जोड्ने मेची राजमार्ग लागू गर्न नहुने कतिपयको तर्क छ । तर मेची राजमार्ग जिल्लाकै भविष्य भएकाले स्थानियको कम क्षतिमा विस्तार गर्नुपर्ने माग पनि उत्तिकै छ । सन्तुलित विकासका लागि सडक विस्तार गर्न नगरपालिका र सडक विभाग इलामका लागि फलामको चिउरा सरह बनेको छ ।







