ताप्लेजुङ । चैत १९ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजनिमस्थित टिन्दु बस्तीमा न सडक छ । न त सजिलो बाटो नै । यद्यपी सडक र बाटो निर्माणाधिन अवस्थामा छन् । विरामी हुँदा स्टेचरमा बोकाउनुको विकल्प छैन् । कतै बाटो त कतै बारीमै हिड्नुपर्छ । १ घण्टाको पैदल हिडेपछि कच्ची सडकमा पुगिन्छ । सुत्केरी व्यथाले च्यापेपछि सोमाया लिम्बुलाई स्टेचरमा बोकाएर सडकसम्म लैजादै गरेको तस्बिरले पनि पुष्टि गर्छ । लिम्बुलाई शनिबार बिहान नजिककै बर्थिङ सेन्टरमा लगियो । तर वर्थिङ सेन्टरले रेफर गरेर जिल्ला अस्पताल लैजान सुझाए । गाउँपालिका उपाध्यक्ष रविन साम्रा (विकास) ले तुरन्तै एम्बुलेन्स झिकाए ।

गाउँपालिका अध्यक्ष चढ्ने गाडीलाई नै जनप्रतिनिधिले एम्बुलेन्स बनाएको छ । जनताको सेवामा प्रयोगमा ल्याइएको उक्त एम्बुलेन्स सुविधा निशुल्क हो । विरामी बोक्न खटिएका उपाध्यक्ष साम्राले भने,‘प्राय एम्बुलेन्स तयारी अवस्थामै हुन्छ । भन्ने वित्तिकै उपलब्ध गराउन सक्नु त्यति सहज छैन् ।’ पालिकाकै एम्बुलेन्स नभएको हुँदो हो त विरामीले शुल्क तिरेर अग्रिम व्यवस्थापन गर्नुपर्थ्यो । अहिलेसम्म करिब ३ सय जना विरामीले एम्बुलेन्स सेवा उपभोग गरेका छन् । गाउँपालिका थप २ वटा एम्बुलेन्स व्यवस्थापनमा जुटेको छ ।

उपाध्यक्ष साम्राले भने,‘२ वटा खरिद प्रक्रियामा छौ । दुर्गम क्षेत्र भएकाले र जनताको पनि माग भएकाले खरिद गर्न उचित ठानेका हौ ।’ गाउँपालिका अध्यक्ष राजन लिम्बुका (मुक्ति) अनुसार जनप्रतिनिधि गाडी चढ्ने तर जनताचाहिँ विरामी हुँदा पनि हिड्नुपर्ने अवस्थाको अन्त्यका लागि गाडीलाई नै एम्बुलेन्स बनाएका हुन् । अध्यक्ष लिम्बुले भने,‘ जनताको सेवा गर्न राजनीतिमा आएका हौ । सुविधा उपभोग गर्न होइन । त्यही भएर गाडीलाई नै एम्बुलेन्स बनायौ ।’ ओलाङचुङगोला,याङ्मा,फले, र घुन्सा लगायतका बस्ती सडकको पहुँचमा छैन् । उक्त बस्तीका नागरिक विरामी हुँदा सक्नेले हेलिकप्टर नत्र हिडाएर लेलेपसम्म (सडक भएको ठाउँमा) ल्याउनुपर्छ ।







