झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्। उनी आज दमकबाटै यो कार्यक्रम उद्घाटन गर्न काँकडभिट्टा पुगेका थिए।

प्रसाईं गत वर्ष मंसिरमा भएको एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। प्रसाईं सशस्त्र युद्धका बेलामा माओवादीमा लागेका थिए। उनलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको थियो। शान्ति प्रक्रियापछि पनि माओवादीमै सक्रिय रहेका प्रसाईंले २०७४ को चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुरस्थित उनको निवासमा छलफल गर्ने गर्थे। त्यही क्रममा उनीहरूले मार्सी चामलको भात खाएको तस्बिरले त्यतिबेला निकै चर्चा पाएको थियो।

एमाले र माओवादीबीचको एकता खारेज भएर दुबै पुराना दल ब्युँतिएपछि प्रसाईं एमालेतिर लागेका थिए। गत मंसिरको चुनावमा उनी एमालेबाट झापा-३ मा प्रतिनिधि सदस्यको उम्मेदवार बन्न चाहन्थे। चुनावी प्रचारको तयारीसमेत गरिरहेका प्रसाईंलाई एमालेले उक्त क्षेत्रमा आफ्नो उम्मेदवार उठाएन। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले समर्थन गर्ने निर्णय गरेपछि प्रसाईं रूष्ट बनेका थिए।

प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतलाई निम्ता दिएका थिए। झापामै रहेका एमाले अध्यक्ष ओली उक्त कार्यक्रममा सहभागी भएनन्। उनी आदिवासी जनजाती सांस्कृतिक महोत्सवको उद्घाटन गरेर भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका छन्।

अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ। काँकडभित्तमा प्रसाईंको उक्त अभियान कार्यक्रम हेर्न मानिसहरू पुगेका थिए। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाबाट मानिसहरू कार्यक्रम हेर्न आएका थिए।

प्रसाईंले यो अभियानलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियान भनेका छन्। प्रसाईंले मेचीदेखि महाकालीसम्म अभियान अवधिभर दुई लाख जनता कार्यक्रममा सहभागी गराइने दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!