ताप्लेजुङ । उच्च शिक्षा अध्ययनका लागि ताप्लेजुङको हिमाली क्षेत्रका सात जना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरिएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड) नेपालले हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमार्फत छात्रवृति प्रदान गरेको हो ।
यस संस्थाले सन् २०१३ यता ८० जना विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि सहयोग गरेको रिड नेपाल ताप्लेजुङका प्रवन्धक राजेन्द्र पन्तले बताउनुभयो । यसवर्ष वितरण गरिएको छात्रवृत्ति ७ लाख ६८ हजार रुपैयाँ बराबरको रहेको छ । सातमध्ये ३ जनाले नियमित ३ वर्षसम्म र ४ जनाले निरन्तर २ वर्षसम्म छात्रवृत्ति पाउने रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावोले बताउनुभयो । सिभिल इञ्जिनियरिङ विषयमा अध्ययनरत फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका साजना लिम्बू र बिकेन्द्र लिम्बूले वार्षिक ६० हजार रुपैयाँ दरले ३ वर्षमा जनही १ लाख ८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउने माबोको भनाई छ ।
यस्तै सिभिल इञ्जिनियरिङको १८ महिने कोर्समा झापास्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठनमा अध्ययनरत कविता लिम्बुले ९६ हजार रुपैयाँको छात्रवृत्ति पाएकी छन् । यस्तै विज्ञान संकायमा अध्ययनरत फक्तालुङ गाउँपालिका वडा नं ६ लेलेपका याङ्ला शेर्पा र वडा नं ५ तापेथोकका दीपेश लिम्बूले २ वर्षे कोर्षका लागि वार्षिक जनही ४२ हजार रुपैयाँका दरले २ वर्षमा ८४ हजार रुपैयाँ छात्रवृत्ति पाउने भएका छन् । यस्तै फक्तालुङ गाउँपालिका वडा नं ४ इखाबु खानीका सञ्जिव तामाङ र सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका आयुष राईले वार्षिक जनही ३६ हजार रुपैयाँका दरले २ वर्षमा जनही ७२ हजार रुपैयाँका दरले छात्रवृत्ति पाउने छन ्। स्थानीय स्तरमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थालाइ मध्यनजर गर्दै कार्यक्षेत्र भित्रका जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्ति प्राविधिक विषय अध्ययन गर्नेहरूलाई वितरण गरिएको रिड नेपालले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेवाङ र मामाङ्खेलाइ रिड नेपालले आफ्नो कार्यक्षेत्र मानेको छ ।
पन्तका अनुसार अहिलेसम्म छात्रवृत्ति रकम बापत ५७ लाख ६८ रुपैयाँ बराबर वितरण गरिसकेको छ ।







