४ कार्तिक, ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित अधिकांश तरकारी पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश तरकारी पसल तथा मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका तरकारी पसलले सब्जीसँगै पेट्रोल समेत बोतलमा भरेर बिक्रि समेत गरिरहेको पाइएका छ ।

शुक्रबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो । अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले ७ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताउनुभयो । अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उहाँले बताउनुभयो ।
त्यस्तै अनुगमन क्रममा होटल तथा सब्जी पसलबाट सुर्तीजन्य बस्तु बरामद गरिएको छ। सब्जी सङै राखेर बेच्दै गरेको ५६ केजि सुर्तीजन्य बस्तु जफत गरिएको भट्टराईले बताउनु भयो।
जुत्ता तथा खाद्य पसलबाट पेट्रोल जफत
फुङ्लिङ बजारमा जुत्ता तथा खाद्यान्न पसलबाट पेट्रोल जफत गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख सुरेन्द्र राज दहालले जानकारी दिनुभएको छ। अति प्रज्वलनशिल पदार्थ मान्निले पेट्रोलको कालो बजारी भएको बिशेश सूचनाका आधारमा गरिएको अनुगमनमा दुई पसलबाट गरि ५९ लिटर पेट्रोल जफत गरिएको दहालले जानकारी दिनुभएको छ।
शुक्रबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको सहभागिता रहेको थियो ।
यो बजार अनुगमनलाई गाउँगाउँमा पुर्याइने प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यता केही उपभोक्ताले समय–समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महिना अनुगमन गरिदिन आग्रहसमेत गरेका हुन् ।








