ताप्लेजुङ। ताप्लेजुङमा कोरोनाका कारण २ पटक स्थगित भएको पाथीभरा गोल्डकप यस वर्ष पनि नहुने भएको छ ।
लाखेजात्रा सञ्चालन समितिले सोमवार पत्रकार सम्मेलन गर्दै लाखेजात्राको अवसरमा सञ्चालन हुदै आएको पाथीभरा गोल्डकप यस वर्ष पनि सञ्चालन गर्न नसकिने प्रष्ट्याएको हो । कोरोना संक्रमणका कारण २०७६ सालमा सम्पन्न पाथीभरा गोल्डकपको चौथो संस्करण पछि गोल्डकप सञ्चालन हुन नसकेको सञ्चालन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले बताउनुभयो । मैदानको आसपास पुर्वाधार निर्माणको कार्य जारी रहेको र खेल सञ्चालन गर्नूपुर्व नै निर्माणको कार्य सम्पन्न हुने सम्भावना न्युन भएकाले खेल सञ्चालन गर्न सम्भव नभएको सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।
लाखेजात्राको अवसरमा हरेक वर्ष हुदै आएको प्रतियोगिता देउमान कप, कञ्चनजंघा कप हुँदै कालान्तरमा पाथीभरा गोल्डकपमा रुपान्तरण भएको छ । समितिका सचिव काफ्लेका अनुसार ताप्लेजुङमा वि.सं. २०२९ सालदेखि निरन्तर खेल सञ्चालन हुदै आएको ईतिहास रहेको छ । जिल्लामा अन्य खेलमैदान नभएको कारणले पनि यसवर्ष खेल सञ्चालन हुन नसकेको समेत आयोजकले बताएको छ ।







