ताप्लेजुङ: फुङ्लिङ नगरपालिका–३ मेदिवुङमा विष्पोटक पदार्थ (ह्याण्ड ग्रिनेड) सहित दुइजनालाई ताप्लेजुङ प्रहरीले नियन्त्रणमा लिएको छ। आईतबार दिउँसो बम (ह्याण्ड ग्रिनेड) देखाएर स्थानीयलाई धम्काउँदै हिँड्ने दुईजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक राकेश यादवले जानकारी दिए।
पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका–४ का सञ्जय लिम्बू रहेकाछन्।
उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएको ठेकेदार प्रकाश लिम्बूले जानकारी दिए। पक्राउ परेका दुबैजना सोहि निर्माण कम्पनीमा कार्यरत थिए। बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक रोशन बुढाथोकी र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक राकेश यादवको टोली पुगेको थियो।
बरामद गरिएको बम ह्याण्ड ग्रिनेड भएको र हाललाई खतरामुक्त रहेको प्रहरी निरिक्षक यादवले बताए। सो बमलाई बेलिकी ६:१० मा पड्काएर डिस्पोज गरिएको उनले जानकारी दिए। यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।







