ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुछोरा चार दिनदेखि हिउँमा फसेका छन् । चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका उनीहरूले शनिबार बिहान वडाध्यक्ष डण्डु शेर्पालाई फोन गरेर उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका छन् ।
अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेको वडाध्यक्ष शेर्पाले बताए । ‘उहाहरुसँग हिजो पनि टेलिफोन सम्पर्क भएको थियो, हामीलाई चौंरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ निस्कन सक्छौँ होला भन्नुभयो,’ वडाध्यक्ष शेर्पाले भने, ‘आज बिहान ५ बजे फोन गरेर हामी निस्कन नसक्ने भयौं हेलिकप्टरबाट निकालिदिनु भन्नुभयो ।’
पाथीभरा यात्रु लिएर आउँदै गरेको निजी कम्पनीको हेलिकप्टरसँग समन्वय भइरहेको र त्यसबाट सम्भव नभए जिल्ला प्रशासन कार्यालयमार्फत सेनाको हेलिकप्टर माग गर्ने शेर्पा बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे वडाध्यक्षसँग समन्वय भइरहेको बताउँछन् । ‘उहाँहरुले यही सुकेटारमा प्राइभेट हेलिकप्टर आउँदैछ त्यसैमार्फत गर्ने भन्नु भएको छ,’ पाण्डेले भने, मैले पनि बुझिरहेको छु, त्यसबाट नभए म गृह मन्त्रालयमा अनुरोध गर्छु ।’
शुक्रबार जानकारी पाउनासाथ पापुङ प्रहरी चौकीबाट प्रहरी पनि पठाएको र स्थानीय पनि उद्धारमा गइरहेको सूचना पाएको पाण्डे बताउँछन् । वडाध्यक्ष शेर्पाका अनुसार उद्धारका लागि जाने प्रयास गरेका स्थानीय बाक्लो हिमपातका कारण बीच बाटोबाटै फर्किएका छन् ।
उनीहरु फसेको भनिएको ठाउँ खोंच परेको निकै अप्ठेरो भएको र त्यसको केही माथिसम्मको चौर पनि रहेको शेर्पाले बताए ।
kantipur







