२८ असार, ताप्लेजुङ ।
लगातारको वर्षा, भिरालो जमीन, भूमिगत पानी, कमजोर भू–बनावट, मेची राजमार्गको बहान्दे काबेली सडकखण्ड छियाछिया परेको छ ।
हिमाली जिल्ला ताप्लेजुङ जोड्ने एक मात्र मेची राजमार्गका दर्जनौं ठाउँ पहिरोका कारण उच्च जोखिममा छन् । केही दिनयताको भारी वर्षापछिको बाढीपहिरोले ताप्लेजुङका थुप्रै स्थानमा चर्किएको र भासिएको छ । अर्कोतर्फ सडकमा गएको पहिरो नपन्छाएपछि पैदल यात्रीसमेत अलपत्र परेका छन ।
जताततै सडकमाथिबाट झरेको कडा चट्टानसँगै खसेको पहिरो पन्छाउन हम्मेहम्मे भएको सडक बिभागका एक कर्मचारीले बताए । उनका अनुसार ताप्लेजुङको धुसेनी भीरमा सडकमाथी खसेको पहिरोका कारण गाडी पार गर्नु त परै जाओस् पैदल आवतजावतमा समेत समस्या भएको छ ।
पहिरोका कारण बहानन्दे, सेसम्बु , मेवाखा क्षेत्रमा बस्तीसँगै खेतीयोग्य जमीनसमेत उच्च जोखिममा परेको छ । सडकखण्डका विभिन्न भागमा नयाँ तथा पुराना पहिरोले दैनिकजसो झर्ने गरेको छ ।
राजमार्गको विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन सडक विभागले खासै चासो नदेखाएको स्थानीयको आरोप रहेको छ।
महिनौ दिनसम्म पनि सडकको पहिरो नपान्छाउने सडक विभागले मर्मतको ढिलासुस्तीले जनतालाई सास्ती भएको स्थानीय बासीहरुले बताए । स्तरोन्नतिमा डोजर, स्काभेटरलगायतको प्रयोग नगर्नाले समेत धेरै ठाउँमा चर्किएका पहाडबाट कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने स्थानीयको भनाइ छ ।
सडकखण्डका केही स्थानमा जमीन निकै कमजोर भएकाले पनि पटकपटक समस्या आउने गरेको प्राविधिकको भनाइ छ । हरेक वर्ष बर्षायाममा झर्ने गरेको पहिरोले यस क्षेत्रका नाली र सडक सबै क्षतविक्षत बनेका छन् ।
























