ताप्लेजुङ , जेठ १४। ताप्लेजुङको फुङ्लिङ–६, काउलेमा सञ्चालन हुँदै आएको ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले भोलि भव्य रूपमा आफ्नो वार्षिक उत्सव मनाउने भएको छ।
आधारभूत तह सञ्चालन गर्दै आएको विद्यालयले छोटो समयमै जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।
विद्यालयका फाउन्डर प्रिन्सिपल तथा निजी विद्यालयका लगानीकर्ता इन्द्रकुमार गुरुङ वैदेशिक अवसर र युकेजस्तो विकसित देशको सुविधा सम्पन्न जीवन त्यागेर आफ्नै जन्मभूमिमा शिक्षामार्फत परिवर्तन ल्याउने उद्देश्यसहित स्वदेश फर्किएका युवा हुन्।
विदेशमा आर्जन गरेको अनुभव र दृष्टिकोणलाई आफ्नै जिल्लाको शैक्षिक विकासमा प्रयोग गर्ने सोचसहित उहाँले ताप्लेजुङमै विद्यालय स्थापना गरेर शिक्षा क्षेत्रमा योगदान दिँदै आउनुभएको छ।
फुङ्लिङ नगर शिक्षा समितिका सदस्य समेत रहेका गुरुङ शिक्षा क्षेत्रमा अनुशासन, गुणस्तर र जिम्मेवारीमा कडा विचार राख्ने व्यक्तिका रूपमा चिनिन्छन्। तर, व्यवहारमा भने उहाँ नम्र, सरल र विद्यार्थीमैत्री स्वभावका धनी मानिन्छन्।
शिक्षालाई केवल व्यापार नभई समाज निर्माणको आधार मान्ने उहाँले विद्यालयलाई अनुशासित, संस्कारयुक्त र गुणस्तरीय बनाउने लक्ष्यका साथ काम गरिरहनुभएको स्थानीयको भनाइ छ।
“गाउँको शिक्षा सुधारिए मात्रै समाजको भविष्य बलियो हुन्छ” भन्ने विश्वास बोकेका गुरुङले ग्रामीण क्षेत्रका बालबालिकाले पनि आधुनिक र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्य राख्दै बुद्ध बोर्डिङ स्कुल सञ्चालनमा ल्याउनुभएको हो।
उहाँको मेहनत र समर्पणका कारण विद्यालयले छोटो समयमै अभिभावक तथा स्थानीय समुदायको विश्वास जित्न सफल भएको छ।
धेरै युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका बेला गुरुङ भने स्वदेशमै सम्भावना खोज्दै शिक्षामा लगानी गरेर उदाहरणीय काम गरिरहेका छन्।
उहाँको प्रयासले ताप्लेजुङका युवालाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्थानीयवासी बताउँछन्।
भोलि आयोजना हुने वार्षिक उत्सवमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, गीत, नृत्य, नाटक, वक्तृत्वकला तथा विभिन्न प्रतिभा प्रदर्शन गरिने विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
स्वदेशप्रतिको माया, समाजप्रतिको उत्तरदायित्व र शिक्षामार्फत परिवर्तन ल्याउने दृढ अठोटका कारण गुरुङ अहिले ताप्लेजुङको शैक्षिक क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन थालेका छन्।







