
नेपाली कांग्रेसले २९ गते देशभर गर्न लागेको प्रर्दशनमा पार्टीका बर्तमान तथा पूर्व पदाधिकारीहरु विभिन्न जिल्लामा जाने भएका छन् । जसअनुसार सभापति शेरबहादुर देउवा मकवानपुर जानेछन भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको प्रर्दशनमा सहभागि हुनेछन् ।
त्यसैगरि उपसभापति बिमलेन्द्र निधी भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रममा सहभागि हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुने तय भएको छ ।
केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखराको कार्यक्रममा सहभागि हुनेछन् । पार्टी केन्द्रीय कार्यालयका अनुसार पदाधिकारी र पूर्व पदाधिकारीहरु विभिन्न जिल्लाको कार्यक्रममा सहभागि हुने तर अन्य नेताहरुलाई जिम्मेवारी नै खटाएको भने छैन् ।
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ ।
‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यालयले २९ गतेको प्रर्दशनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।