
राप्रपाका एक मात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देन निमोनियाबाट गम्भीर बिरामी परेका छन्।
उनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको झापा विर्तामोडस्थित बिएन्डसी अस्पतालले जनाएको छ।
झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देन बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि बिएन्डसी अस्पताल भर्ना भएका थिए।
उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं ल्याइँदै छ। बिएन्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार लिङ्देनलाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
बिहीबार साँझ लिङ्देनलाई लिन सेनाको हेलिकप्टर चन्द्रगढी विमानस्थल पुगिसकेको छ।
लिङ्देनलाई आइसियूमा राखेर उपचार थालिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको गिरीले बताए।
‘उहाँको दुवै फोक्सोमा निमोनिया संक्रमण छ,’ चिकित्सकलाई उद्धृत गर्दै गिरीले सेतोपाटीसँग भने, ‘थप उपचारका लागि काठमाडौं लैजान सेनाको नाइटभिजन हेलिकप्टर चन्द्रगढी विमानस्थलमा आइसकेको छ।’
लिङ्देनलाई कोरोना संक्रमणको आशंका पनि रहेको गिरीले बताए। उनको स्वाब संकलन गरी पठाइसकिएको भए पनि रिपोर्ट आइनसकेको गिरीले बताए।