
काठमाडौं । पछिल्लो समय डिपफेक भिडियोको चर्चा निकै हुने गरेको छ । मानिसहरुलाई बहकाउनका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग धेरै हुन थालेको छ ।
आज हामी तपाईंलाई फेक अर्थात झुटा जानकारी फैलाउने भिडियो फर्म्याटको बारेमा बताउँदै छौं । अहिलेको समयमा इन्टरनेटमा फेक कन्टेन्टको बिगबिगी छ ।
यो पत्ता लगाउन निकै मुस्किल हुन्छ । कुन सन्देश वा भिडियो सही हो वा कुन झुट भन्नै सकिन्न । यही शिलशिलाको पछिल्लो भर्सन हो डिपफेक भिडियो ।
यो नयाँ फर्म्याटमा नेता तथा सेलिब्रिटीको नक्कली अनुहार तयार पारेर गलत तथा झुटा जानकारीहरु फैलाउने गरिन्छ । वास्तवमा यस्तो डिपफेक भिडियो नयाँ प्रविधिको सहयोगमा तयार हुने गर्दछ ।
जसलाई हेरेकै भरमा सक्कली हो कि नक्कली हो भन्न मुस्किल हुन्छ । भिडियोसँगै अडियो समेत सक्कली व्यक्तिसँग मिल्नेगरी तयार पारिएको हुन्छ ।
त्यसैले डिपफेक भिडियोका कारण कयौं अप्रिय घटना हुनसक्ने जोखिम बढेर गएको छ । डिपफेक भिडियोको एउटा खतरनाक पाटो के छ भने यसमा अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरिएको हुन्छ ।
कम्प्युटरको सहयोगमा फेक भिडियोलाई एकदमै सक्कली जस्तो देखाउन सकिन्छ । यसका लागि कम्प्युटरमा आधारित मसिनलाई एक व्यक्तिका कयौं फोटो उपलब्ध गराइन्छ ।
ती सबै फोटो मिलाएर मसिनले एउटा छुट्टै भर्चुअल अनुहार तयार पार्दछ । जसलाई कुनै पनि भिडियो वा फोटोमा प्रयोग गर्न सकिन्छ ।
यसमा अनुहारको भावभंगी, आँखाको चाल आदि समेत दुरुस्तै मेल खानेगरी विचार गरिएको हुन्छ । त्यसकारण यसरी तयार पारिएको भिडियो तथा फोटो एकदमै दुरुस्त देखिन्छ ।
सामाजिक सञ्जालमा अहिलेसम्म थुप्रै डिपफेक भिडियोहरु भाइरल भइसकेका छन् । मानिसहरु यस्ता भिडियोलाई वास्तविक सम्झेर शेयर गरिरहेका हुन्छन् ।
त्यस्ता भिडियोमा यतिसम्म विवादिद बयान दिइएको हुन्छ कि मानिसहरुले त्यसलाई देख्ने वित्तिकै आफ्नो प्रतिक्रिया सहित शेयर गर्न तयार हुन्छन् । त्यसैले सामाजिक सञ्जालमा देखेको जानकारी शेयर गर्नु अघि यस्ता कुराहरुलाई अवश्य विचार गर्नुहोस्, ता कि तपाईंबाट त्यस्ता सामग्री भाइरल गराउने गल्ती नहोस् ।