
चैत्र ९ काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार नेताहरूलाई तीन दिन भित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।
नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिए । पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै पत्र पठाईएको छ ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाल सहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो । स्पष्टीकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ ।
तीन दिन भित्र चित्त बुझ्दो जवाफ नदिए कार्बाही गर्ने तयारी एमाले ओली समुहले गरेको छ ।
यसैबीच, माधव नेपाल सहितको नेताले ओली समुहले सोधेको प्रश्नको जवाफ नदिने भएको छ । नेता योगेश भट्टराईले प्रश्न सोध्नेहरु नै लाखाँै प्रश्नको घेरामा रहेको टिप्पणी गरेका छन् । यसले एमाले भित्र थप विवाद उत्पन्न हुने संकेत देखिएको छ ।