
एजेन्सी । पाकिस्तानको एक विश्वविद्यालयले प्रेमप्रस्ताव राख्दै अंकमाल गरेका छात्र र छात्रालाई निस्कासित गरेको छ ।
लाहोर विश्वविद्यालयको शुक्रबार बसेको विशेष अनुशासन समितिको बैठकले प्रेमी छात्र र छात्रालाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अनुशासन समितिले उनीहरूलाई विश्वविद्यालयको परिसरमा आउन समेत प्रतिबन्ध लगाएको छ ।
विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । निष्कासित गर्नुअघि उनीहरूलाई अनुशासन समितिको शुक्रबारको बैठकमा बोलाइएको थियो । तर, उनीहरू उक्त बैठकमा अनुपस्थित थिए ।
सामाजिक सञ्जालम विद्यार्थीले प्रेम प्रस्ताव राखेको र अंकमाल गरेको भिडियो भाइरल भएपछि विश्वविद्यालयले उनीहरूलाई कारबाही गरेको हो । भिडियोमा एक युवतीले युवकलाई सबैको अगाडि गुलाबको फूलसहित प्रेमप्रस्ताव राख्छिन् ।
युवकले प्रेम प्रस्ताव स्वीकार गर्दै युवतीलाई अंकमाल गर्छन् । उनीहरूको यो गतिविधि छेउमा रहेका विद्यार्थीहरूले कैद गर्दै सामाजिक सञ्जालमा राखिदिएका हुन् ।