
तिलोत्तमा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदायलाई तयारी अवस्थामा रहन अपिल गरेका छन् । राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले आफू दलित समुदायको ऋणी भएको बताए ।
‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उनले भने, ‘त्यसैले अब पुन: प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’
दाहालले स्व. गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको १२ बुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाउने बताए । नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइएको प्रसंगमा उनले आमाको कोखबाट जन्मिएको बच्चालाई पुन: गर्भमा लैजाने तरिका गलत भएको उल्लेख गर्दै त्यस्ता कुराको कुनै तुक नरहेको जनाए ।
दलित अगुवाले साथ दिएर अघि बढेको राष्ट्रियता, स्वाधीनता र संविधानको संरक्षणका लागि दलित पत्रकारले कलम चलाउनुपर्नेमा दाहालले जोड दिए ।