फुङलिङ, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा भदौ १२ गतेदेखि सञ्चालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतको एक टोलीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

आयोजक लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङको पर्यटकीय तथा धार्मिक महत्व बोकेका स्याम्दो पोखरी, सिङ्जेमा ताल र दिकी छ्योलिङ गुम्बा पुगेर प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका सार्वजनिक गर्दै आयोजकले खेलकुदसँगै जिल्लाको पर्यटन र स्थानीय पहिचानलाई जोड्ने सन्देशसमेत दिएको छ।

समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको उद्घाटन खेल भदौ १२ गते हुनेछ। पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ अन्तर्गत आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन्।

भदौ १३ गते समूह ‘बी’ अन्तर्गत चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच दोस्रो क्वाटरफाइनल हुनेछ। त्यसैगरी भदौ १४ गते सातदोबाटो फुटबल क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको डिफेन्डिङ च्याम्पियन सलहेश युवा क्लबको सामना गर्नेछ।

भदौ १५ गते हुने अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। यससँगै प्रतियोगिताको पहिलो चरण पूरा हुनेछ।

भदौ १६ गते पहिलो सेमिफाइनलमा ताप्लेजुङ–११ र जर्जियन युनाइटेडबीचको विजेताले सातदोबाटो फुटबल क्लब र सलहेश युवा क्लबबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, भदौ १७ गते हुने दोस्रो सेमिफाइनलमा चित्लाङ र फिदिम स्पोर्टिङबीचको विजेता तथा झापा–११ र नेपाल पुलिस क्लबबीचको विजेताबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ।

खेलाडीलाई फाइनलको तयारीका लागि भदौ १८ गते विश्राम दिइनेछ भने भदौ १९ गते उपाधिका लागि फाइनल खेल हुनेछ।

विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ पाउने

यस वर्षको ताप्लेजुङ गोल्डकपको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ।

म्यान अफ द म्याचलाई नगद होइन, ताप्लेजुङको ‘पहिचान’ — अलैँची

यस वर्षको गोल्डकपमा सबैभन्दा फरक र आकर्षक पक्षका रूपमा हरेक खेलका म्यान अफ द म्याचलाई ७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची प्रदान गरिने भएको छ।

नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन गर्ने जिल्लाका रूपमा परिचित ताप्लेजुङको स्थानीय उत्पादनलाई खेलकुदसँग जोड्दै अलैँचीलाई पुरस्कारका रूपमा प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ। यसले खेलकुदसँगै जिल्लाको कृषि उत्पादन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

करिब ६० हजार रुपैयाँ मूल्य बराबरको अलैँची फङ्फङदेन पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले सौजन्य गरेका हुन्।

साँवा संयोजक रहेको गत मंसिरमा सम्पन्न फङ्फङदेन झरना पर्यटन महोत्सवमा समेत प्रतियोगिताका विजेता, उपविजेता, म्यान अफ द म्याच तथा विभिन्न विधाका विजेतालाई नगद पुरस्कारको मूल्य बराबरको अलैँची प्रदान गरिएको थियो।

खेलकुदको रोमाञ्चसँगै पर्यटन, कृषि र स्थानीय पहिचानलाई एउटै मञ्चमा जोड्ने प्रयासका कारण यस वर्षको ताप्लेजुङ गोल्डकप थप विशेष हुने अपेक्षा गरिएको छ। फुङलिङमा भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले ताप्लेजुङमा खेलकुदको माहोलसँगै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!