२ माघ, ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ताप्लेजुङमा निर्वाचन व्यवस्थापन र सुरक्षालाई प्राथमिकतामा राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ। जिल्ला अदालत परिसरमा स्थापना गरिएको कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि व्यवस्थित रूपमा अघि बढाइने भएको छ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले कार्यालयको उद्घाटन गर्दै निर्वाचन प्रक्रिया निष्पक्ष र भयरहित बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए। उनले विशेषगरी पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनप्रति सचेत रहन आग्रह गर्दै कानुनको पूर्ण पालना गर्न सरोकारवाला सबैलाई निर्देशन दिए।

निर्वाचनको सुरक्षा व्यवस्थालाई विश्वसनीय बनाउने उद्देश्यले कार्यालय स्थापनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू खटाइएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचन सुरक्षा कागजमा सीमित नभई आम नागरिकले प्रत्यक्ष अनुभूत गर्ने खालको हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रशासन पूर्ण रूपमा तयार रहेको बताए।

सहायक निर्वाचन अधिकृत शम्मीकपुर शाहका अनुसार कार्यालय सञ्चालनसँगै निर्वाचनका कार्यक्रम, कार्यतालिका तथा सूचना यही कार्यालयमार्फत सार्वजनिक गरिनेछ। साथै, मतगणना पनि यही परिसरमै हुने व्यवस्था मिलाइएको छ।

ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता रहेका छन् भने प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ। जिल्लाभर ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र तोकिएका छन्। २०७० साल यताका सबै निर्वाचनमा यही स्थानलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयका रूपमा प्रयोग गर्दै आइएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा सुरक्षा निकाय, निर्वाचन प्रशासन, अनुसन्धान, कोष नियन्त्रण र स्वास्थ्य क्षेत्रका प्रमुख प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!