मोहन वैद्य भन्नासाथ उनको सङ्घर्षशील व्यक्तित्वका साथै क्रान्तिकारी चिनारी पाठकका मनमा आउने गर्छ । उनी क्रान्तिकारी मात्र होइनन् लडाकु पनि थिए र लडाकु मात्र नभएर लडाकुको नेतृत्व पङ्क्तिमा उभिएका राजनीतिज्ञमा पनि सुपरिचित भए । कुनै बेला नेपालमा नेकपा माओवादी एउटा ठुलो शक्ति मानिन्थ्यो । त्यही शक्तिकै कारणले नेपालमा गणतन्त्रको समेत आविष्कार गरिदिएको थियो । नेपाल राष्ट्रमा जे, जसरी र जताबाट गणतन्त्र भित्रिए तापनि यसको नेतृत्व गर्ने प्रमुख व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए अनि मोहन वैद्य प्रचण्डका सल्लाहकार, गुरु र निर्देशक थिए ।
मोहन वैद्यले राजनीतिमा मात्र शिखर आरोहण गरेनन् उनी नेपाली भाषा साहित्यका क्षेत्रमा पनि नेतृत्वसहित चम्किरहे । उनको लेखन तथा चिन्तन नेपाली भाषामा एउटा दिगो आधार बन्यो । उनले आफ्नो साहित्यिक नाउँ ‘चैतन्य’ राखे तापनि आम जनमानसमा ‘किरण’ बाटै उनी प्रख्यात् भए । खास गरेर राजनीतिमा उनी किरणले चिनिए । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का अध्यक्षका रूपमा मोहन वैद्य किरणले आफूलाई उभ्याए । भूमिगत रूपमा उनी कपिल, सरोज, अगम, अरुण इन्द्रजित, चेतन आलेबाट पनि परिचित भएका थिए । उनको नाउँ चैतन्यचाहिँ पारिजातले राखिदिएकी थिइन् । त्यसैले त्यस नाउँलाई उनले साहित्यमा मात्र चलाए । चेतन आलेका नाउँबाट पनि उनले फुटकर लेखरचना प्रकाशित गरेका थिए ।
शशिधर वैद्य र जानुका वैद्यका सात जना छोरा र एउटी छोरीमध्ये मोहन वैद्य जेठा छोरा थिए । यिनको जन्म २००३ साल साउन १५ गते प्युठान खैरा गाउँको कुसुमारूखमा भएको थियो । उनका पुर्खा प्युठानका राजाहरूको उपचारका लागि जडीबुटीबारेका काम गर्थे । त्यसैले उनीहरूलाई वैद्य मानिन्थ्यो । वैद्यमा नाउँ चलेपछि उनीहरूले आफ्नो पोखरेल थर मेटेर वैद्य लेख्न थालेका थिए । त्यसैले मोहन वैद्यले पनि आफ्नो थर पोखरेल लेखेनन् । उनी दुध पोखरेल वंशका बाहुन भए तापनि उनले आफूलाई वैद्यमा नै स्थापित गराए ।
मोहन बैद्य जो संस्कृत पढेर पनि अन्ततः माक्र्सवादी राजनीतिज्ञ भए ।
उनले स्नातकोत्तर प्राईभेट परीक्षा दिएर पनि राम्रो नतिजा ल्याए ।
लडाकु मात्र हैन त्यसको नेता र निर्देशक पनि बने ।
उनले साहित्यलाई पनि अघि बढाए , उनको चैतन्य नाम नै पारिजातले राखिदिएकी थिईन् ।
उनको छोराको दुई बर्षको अल्पायुमै निधन भयो । उनकी तीन छोरी छन् ।
उनकी जीवन साथी सुष्माले पनि प्रौढ शिक्षा हुँदै एसईई उत्तीर्ण गरेकी छन् । नेपाली भाषासाहित्यमा मोहन वैद्य विशिष्ट लेखकको नाउँ हो ।
मोहन वैद्यका बुबाआमासहित दस जनाको परिवार थियो । उनीहरूको जीवन धान्न उनका बुबा शशिधर वैद्यले पुरोत्याइँ पनि गरे र स्कुलमा अध्यापन पनि गरे । यिनका बुबा जतिसुकै घोटिए तापनि यिनीहरूलाई खान लाउन चाहिँ धौधौ नै थियो ।
मोहन वैद्य बाल्यकालमा पूर्ण धार्मिक रीतिरिवाजमा बाँधिएका थिए । आफ्ना बाबुआमाको अनुयायी भएर उनले राजा त्रिभुवनको स्वर्गारोहण हुँदा कपाल पनि खौरेका थिए । तर, किशोरकालको प्रवेशले उनीभित्र ती संस्कृति र परम्परा भनेका अन्धविश्वास हुन् भन्ने भावनाको जागृति भयो । त्यसै बेलादेखि उनले दलितले पकाएको खाना खानेदेखि कुखुराको मासुसमेत खान थाले । त्यति मात्र होइन बाहुनले हलो जोत्नु हुँदैन भन्ने परम्परासँग पनि उनले युद्ध गर्ने हेतु गोरु नारी खेत जोतेर हलोको अनौ पनि समातेका थिए ।
मोहन वैद्यले आफू सानो हुँदै काङ्ग्रेस र कम्प्युनिस्टलाई घृणा गर्थे । अनि युवा अवस्थामा प्रवेश भएपछि उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवेशमाथि चिन्तन गर्न थाले । सोही अनुरूप १८ वर्षको उमेरदेखि उनी कम्युनिस्ट पार्टीमा सक्रिय भए । उनी पुष्पलालबाट प्रेरित भए तापनि निर्मल लामा र मोहनविक्रम सिंहलाई उनले गुरु थापेका थिए । यति हुँदाहुँदै पनि उनले पुष्पलाललाई आफ्नो मन पर्ने कोटिमा सदैव सुरक्षित राखिराखे ।
मोहन वैद्यले आफ्ना बुबासँग संस्कृत पढे । त्यसै बेला उनले ‘अमरकोश’, ‘लघुकौमुदी’ र पुराणहरू पढेका थिए । साथै उनको शिक्षादीक्षा पनि संस्कृतकै माध्यममा भयो । उनले दाङको जनता महाविद्यालयमा पढे र त्यहीँबाट पूर्वमध्यमा पास गरे । त्यही ठाउँबाट उनले शास्त्री पनि पढे । साथै उनले त्रिभुवन विश्वविद्यालयबाट २०२८ सालमा नेपाली विषयमा एम्ए उत्तीर्ण गरे । त्यतिखेर प्राइभेट परीक्षा दिएर पनि उनले उत्कृष्टता हासिल गरेका थिए । त्योभन्दा अघि उनी शिक्षकका साथै प्रधानाध्यापक भई काममा भिजिसकेका थिए ।
मोहन वैद्यको विवाह २०३१ साल असोज ७ गते अर्घाखाँचीका खुबीराम आचार्य र खगेश्वरी आचार्यकी माहिली छोरी सुषमा आचार्यसँग भएको थियो । खुबीराम र मोहन वैद्य एउटै दल र सिद्धान्तका भएकाले वैद्य जेलबाट निस्कने बित्तिकै आचार्यकै प्रस्तावमा उनीहरू जोडी बाँधिएका थिए । यी दम्पतीबाट २०३४ सालमा कपिल नामक छोराको जन्म भयो र उनको दुई वर्षमा नै निधन भयो । अनि उनीहरूका छोरीहरू लता, चेतना, सिर्जनाको जन्म भयो । सुषमाले प्रौढ शिक्षाअन्तर्गत एसएलसी पास गरिन् ।
मोहन वैद्य २०२५ सालमा पहिलोचोटि जेल परेका थिए । त्यस बेला उनी काङ्ग्रेसीहरूको झोसपोल र सोर्सफोर्सका कारण जेल गएका थिए । त्यतिखेर उनी पाँच महिना जेल बसे । त्यसपछि विविध कृत्यमा फसेर उनी घरिघरि जेल परिरहे । नेपालमा गणतन्त्र भित्रिनुअघि उनी भारतको दार्जिलिङ जिल्लाको सिलगुढीमा पक्राउ परेका थिए । त्यस जेलमा उनले झन्डै तीन वर्ष बिताएका थिए ।
स्कुले जीवनदेखि नै मोहन वैद्यले आफूलाई सिर्जनामा लगाएका थिए । उनी साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालको लेखबाट प्रभावित भएका थिए । २०१९ सालमा बनारसबाट प्रकाशित ‘सुमन’ पत्रिकामा पहिलोचोटि उनको कविता छापिएको थियो । उनको पहिलो समालोचना पनि बनारसबाटै प्रकाशित ‘सन्देश’ पत्रिकामा २०२८ सालमा प्रकाशित भयो । ती दुवै पत्रिका बनारसमा अध्ययनरत प्युठान र दाङका विद्यार्थीबाट प्रकाशित थिए ।
राजनीतिमा प्रवेश भएपछि मोहन वैद्यले मार्क्स, लेनिन, माओ पढ्न थाले । अनि मार्क्सवादको कला र सौन्दर्यको चिन्तनले उनलाई पछि लगाउन थाल्यो । क्रमशः साहित्यमा पनि उनले मार्क्सवादी चिन्तन घुसाउन थाले । साहित्यको विषयवस्तु उनले समालोचना नै समाए र त्यसमा पनि मार्क्सवादी दृष्टिकोण नै अगाडि सार्न थाले । मार्क्सवादी चिन्तनमा डुब्दाडुब्दै उनी सौन्दर्यशास्त्रका नै विशेष ज्ञातामा समेत स्थापित भए ।
नेपाली भाषासाहित्यमा मोहन वैद्य विशिष्ट लेखकको नाउँ हो । उनको लेखनमा तत्कालीन प्रशासन पनि जानकार राख्थ्यो । त्यसैले उनले लेखेका गीत र कविता अनि राजनैतिक लेखहरू प्रहरीबाट जफत भएका थिए र उनका थुप्रै रचना जलाइएका थिए । प्रहरीले उनका सिर्जना मासेको हुँदा उनका धेरै लेखरचना स्मृतिमा मात्र सीमित रहे ।
साधा जीवन र उच्च विचारका कुवेर मोहन वैद्य सशक्त क्रान्तिकारी मात्र नभई कमलो हृदयका धनी पनि हुन् । उनी भन्थे— ‘जनयुद्धका बेला कति पटक त म रोएको पनि थिएँ ।’ वास्तवमा उनी उपन्यास पढ्दापढ्दै पनि रुने गर्थे । उनी क्रान्तिकारी र जनवादी गीत सङ्गीत मन पराउँछन् तापनि उनलाई मन पर्ने गायकहरू तारादेवी, अरुणा लामा र नारायण गोपाल नै थिए ।
मोहन वैद्यले नेपाली समालोचनामा एउटा बेग्लै आयाम स्थापित गरे । उनको समालोचकीय धारा मार्क्सवादी सौन्दर्य चेतनाबाट प्रभावित भयो । यसै क्रममा उनका समालोचना विषयक चारवटा कृति प्रकाशित भए । फुटकर लेखरचनाबाहेक उनका दसवटा कृति प्रकाशित छन् ।
नेपाली भाषासाहित्यमा मोहन वैद्यको उच्च स्थान रहेको छ । उनी कवि निबन्धकार, प्रबन्धकार र समालोचक हुन् तर पनि समालोचनाको लेखनले उनी अझै माथि उठेका छन् । समालोचना बारेको दृष्टिकोण सम्बन्धमा उनले डिजन भट्टराईलाई भनेका थिए— ‘कुनै निश्चित मानदण्डका आधारमा कलाकृतिको अध्ययनमा, मूल्याङ्कन र दिशानिर्देश गर्ने कला सिद्धान्तको नाउँ समालोचना हो । समालोचना साहित्य र कलाको क्षेत्रमा वैचारिक वर्गसङ्घर्षको एक ओजस्वी हतिहार पनि हो ।’
मोहन वैद्यले साहित्यको परिभाषा दिने क्रममा भनेका छन्— ‘साहित्य भनेको शब्दका माध्यमद्वारा गरिएको जीवनको कलात्मक प्रतिबिम्बन हो । साहित्य एक सामाजिक परिघटना होस यसमा विचार र अनुभूतिको संश्लेषण भएको हुन्छ ।’
मोहन वैद्यले साहित्य सिर्जनामा समर्पित भएर धेरै सम्मान पाए । उनले ‘मार्क्सवादी कला दृष्टि र समीक्षा’ ९२०५४० कृतिका लागि कृष्णमणि पुरस्कार प्राप्त गरेका थिए । साथै उनले गोकुल साहित्य पुरस्कार, पारिजात स्मृति पुरस्कार आदि पनि ग्रहण गरेका थिए ।
मोहन वैद्यले नेपाल राष्ट्रका सत्तरी जिल्ला र भारतका बीस वटा प्रान्तको भ्रमण गरे । यसै गरी उनले चीन, जापान, कतार, बेल्जियम, फ्रान्स, स्विजरल्यान्ड, जर्मनी, लकजेन्वर्ग, निदरल्यान्ड आदि मुलुकको पनि भ्रमण गरेका थिए ।
मोहन वैद्यको समालोचकीय दृष्टिकोणमाथि डा।सुकुम शर्माको विचार रहेको छ— ‘नेपाली प्रगतिवादी समालोचना र सौन्दर्य चिन्तनका क्षेत्रमा वैचारिक हस्तक्षेपसहित सही मान्यताका स्थापनामा चैतन्यको समालोचना गम्भीर र वस्तुवादी देखिन्छ । यिनका समालोचना सैद्धान्तिक विधापरक, स्रष्टापरक, कृतिपरक र विधि लेखनका सन्दर्भबाट विश्लेषण गर्न सकिन्छ । समाजवादी यथार्थवादी चिन्तन केन्द्रबाट समालोचना पद्धति तथा दृष्टिकोणको विकास गर्दै सैद्धान्तिक र व्यावहारिक अनुशीलन तथा व्याख्या गर्नु यिनका समालोचनाको उल्लेख्य पक्ष हो । यसर्थ कला साहित्यको मूल्य गतिशील चिन्तनका संश्लेषणबाट गुणदोषको पक्षमा प्रवेश गर्दै मार्गनिर्देश गर्ने प्रवृत्ति यिनका समालोचनामा पाइन्छ । नेपाली प्रगतिवादी समीक्षा या समालोचनाका क्षेत्रमा यिनको योगदानको मूल्यबोध समाजवादी यथार्थवादी चिन्तनका केन्द्रीयताबाट नै खोजी गर्दा सहज हुने देखिन्छ ।’
मोहन वैद्य सिर्जनात्मक लेखन, साहित्य समीक्षा र सौन्दर्य चिन्तन, सांस्कृतिक, दार्शनिक, राजनीतिक चिन्तन गर्ने सक्रिय व्यक्तित्व हुन् ।
मोहन वैद्य ‘चैतन्य’का प्रकाशित पुस्तक :
(१) लाहुरेको रहर (खण्डकाव्य : २०३७)
(२) मार्क्सवादी कला दृष्टि र समीक्षा (समालोचना : २०५४)
(३) सङ्घर्षको दर्शन (दर्शन विषयक समालोचना : २०६०)
(४) नेपाली समाज र संस्कृति (इतिहास : २०६१)
(५) क्रान्ति र सौन्दर्य (समालोचना : २०६४)
(६) समीक्षा र सौन्दर्य (समालोचना : २०६५)
(७) मार्क्सवाद र संस्कृति (प्रबन्ध : २०६६)
(८) मार्क्सवादी दर्शन (दर्शनशास्त्र : २०६७)
(९) मार्क्सवादी सौन्दर्य चिन्तन (समालोचना : २०६९)
(१०) हिमाली दर्शन (दर्शनशास्त्र : २०७४)
‘नेपाली साहित्यका प्रमुख समालोचक’ नामक ग्रन्थका लागि तयार पारिएको प्रस्तुत जीवनीका धेरै अंश ‘मधुपर्क’ २०७८ सालको असोज अङ्कमा पनि आबद्ध छ; (लेखक) ।







