ताप्लेजुङ । मात्रिकादेवी प्रसाईँले मकैको खोसेलाजस्तो सामान्य वस्तुलाई महिलाको आम्दानीको स्रोतमा बदल्नुभएको छ। कक्षा १२ मा असफल भएपछि निराश नबनी उहाँले हस्तकला सिक्नुभयो र फुङलिङमा “मात्रिका हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्र” स्थापना गर्नुभयो।
आज उहाँको सीप र प्रशिक्षणबाट १५ सयभन्दा बढी महिलाले आत्मनिर्भर बन्ने अवसर पाएका छन्। खोसेलाको ‘बुकी ब्याग’, अचार र पोतेजस्ता सामग्रीमार्फत गाउँका महिलाहरूले आफ्नै कमाइ गर्न थालेका छन्।
उहाँको भनाइमा, “स्थानीय सरकारले आफ्नै कार्यक्रमहरूमा स्थानीय हस्तकला प्रयोग गर्ने नीति ल्याए महिलाहरूलाई विदेशिनु पर्दैन।”
हस्तकला, अलैंची व्यापार र यातायात व्यवसायसम्म फैलिएको उहाँको यात्रा गाउँकी एउटी महिलाले कसरी स्थानीय स्रोतलाई रोजगारीमा बदल्न सक्छिन् भन्ने उदाहरण बनेको छ।







