ताप्लेजुङ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी–सुनसरीद्वारा २०८३ साल बैशाख महिनाको “Traffic Police of the Month” का रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक हवल्दार तुलसी गिरीलाई घोषणा गरिएको छ।
प्रहरी सहायक हवल्दार गिरीले आफ्नो जिम्मेवारीप्रति उच्च समर्पण, अनुशासन र कर्तव्यनिष्ठाका साथ कार्य सम्पादन गर्दै ट्राफिक व्यवस्थापन, शंकास्पद सवारी साधन नियन्त्रण, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनामूलक अभियानमा उल्लेखनीय योगदान पुर्याएका छन्।
उहाँले स्थानीय तह, सरोकारवाला निकाय तथा सडक विभागसँग समन्वय गरी दुर्घटना सम्भावित क्षेत्र (ब्ल्याक स्पट) मा सचेतनामूलक बोर्ड स्थापना, ट्राफिक कोन व्यवस्थापन तथा बजार क्षेत्रमा सवारी सञ्चालनलाई व्यवस्थित बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुभएको कार्यालयले जनाएको छ।
त्यसैगरी, हराएको मोबाइल फोन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने, ट्राफिक नियम कार्यान्वयनमा सक्रियता देखाउने तथा सेवामुखी प्रहरीको छवि स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै प्रहरी सहायक हवल्दार तुलसी गिरीलाई “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” घोषणा गरिएको जानकारी दिनुभयो।








