तलबाट हेर्दा
माथि माथि
हिमालभन्दा माथि पुगेकी
तिमीलाई
च्याप्प अँगालाेमा बेरेर
च्वाप्प च्वाप्प म्वाईँ खान मन लाग्छ ।

माथिबाट हेर्दा
तल तल
हिमालभन्दा तल पुगेर
धर्तीकाे भुवादार छानाे बनी
शीतलता प्रदान गर्ने तिमीलाई
च्याप्प अँगालाेमा बेरेर
च्वाप्प च्वाप्प म्वाईँ खान मन लाग्छ ।

कहिले ओल्लाे गाउँ छेक्छ्याै,
कहिले पल्लाे गाउँ छेक्छ्याै,
मायाका बस्तिहरू धुमिल पार्छ्याै,
सागरका छाल र सगरमाथा छेक्छ्याै ।
हाे ,
सागरका छाल र सगरमाथा
तिम्रै जन्मदाता हुन्,
र त झ्याप्प छाेप्छ्याै,
मेराे कल्पनाकाे सन्सार त मामुली कुरा न हाे
त्यसैले पटक पटक छाेप्छ्याै।

अाकार बदल्छ्याै
रङ्ग बदल्छ्याै
गन्तव्य बदल्छ्याै
त्यसैले,
तिम्राे विश्वास त खास लाग्दैन
र पनि
बहुरुपी तिमी र तिम्रा धर्साहरूलाई
एकै ठाउँ बटुलेर
प्रेमगीत काेर्न मन छ ।

तिम्रा चाेसे प्वालबाट छिरेर
आकाशकाे नीलाे चाेर्दै
हिमालले लुकामारी खेलेझैँ
लुकामारी खेल्न मन छ।
तिम्राे रुवा जस्ताे तनलाई
तिम्रै कारण
पानी बनेकाे मेराे मनले
लचेब्ब्रै भिजाएर
मायाकाे अनुभूति साट्न मन छ ।
त्यसैले,
आउ प्रिय कुहिराे !
भन्ज्याङ्मा बसेर
देउराली पुज्दै
कतै पनि उल्लेख नभएकाे
हामी एक हुने
प्राकृतिक मुचुल्कामा हस्ताक्षर गराैँ ।।

सागरमणि दाहाल
धरान,सुनसरी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!