ताप्लेजुङको सिरिजङघा गाउँपालिकाले केही दिन अघि एउटा महत्वकांक्षी योजना अघि सारेको छ । गाउँपालिकाले नै सबै खर्च बेहोर्नेगरी प्रत्येक वर्ष एक जनालाई एमबीबीएस पढाएर आफैं डाक्टर उत्पादन गर्ने भएको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा जितेका टिकाराम गुरुङ गाउँपालिकाको एउटा डाक्टरको लागि वर्षमा ९ लाख खर्च गर्न गाह्रो नहुने बताउँछन् । आफ्नै ठाउँमा गाउँपालिकाले सबै खर्च बेहोरेर पढाएका डाक्टरले दुई वर्ष गाउँपालिकाकै स्वास्थ्य केन्द्रमा काम गर्नुपर्नेछ । त्यसपछि भने उनीहरु गाउँपालिका बाहिर जान सक्ने उनी बताउँछन् ।
एमबीबीएस मात्रै होइन एक कक्षादेखि १२ सम्म निशुल्क, प्राविधिक विषयमा ८ जनालाई वर्षेनी पढाउनेसहितका दर्जनौं योजनामा गाउँपालिकाले काम गरिरहेको उनी बताउँछन् । अन्यत्र अत्याधिक रुपमा पूर्वाधार र बाटो निर्माण गरी डोजर आतंक चलाइरहेका बेला शिरिजङघाले भने शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको अध्यक्ष गुरुङले नेपालवाचका लागि रमेश सापकोटासँगको कुराकानीमा बताएका छन् ।

तपाईंहरुले शैक्षिक कार्यक्रममा ल्याएका योजना यतिखेर चर्चामा आएका छन् यसलाई कसरी लिनुभएको छ ?

हामीले लहडमा होइन व्यवहारिक रुपमा हाम्रो दुर्गम भूगोल र नागरिकप्रति संवेदनशील भएर कार्यक्रम तय गरेका छौं । यो चर्चाका लागि भन्दा पनि हामीले आवश्यकता देखेर व्यवहारिक रुपमा नै कार्यान्वयन गर्न ल्याएका कार्यक्रम हुन् ।

शिक्षा सुधारका लागि तपाईंहरुले चाहनुभएको सुधारका कार्यक्रम कस्ता छन् ?

अघिल्लो वर्षको बजेटमा हामीले ‘निशुल्क शिक्षा हामी सबैको इच्छा’ भन्ने नारामा कार्यक्रम तय गरेका छौं । निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत निरन्तर शिक्षामा पहुँच बढाउन र सहयोग गर्नु राज्यको दायित्व भएकोले शिक्षामा छुटका कार्यक्रम तय गरेका छौं । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ११ र १२ कक्षाका विद्यार्थीहरुलाई निशुल्क पढाउँदै आएका छौं । रजिष्ट्रेसन, भर्ना, मासिक शुल्क केही तिर्नुपर्दैन । गाउँपालिकाले नै तिरिदिन्छ । गतसाल एक विद्यार्थी बराबर ६ हजार तीन सय शुल्क तिरेका थियौं ।

प्राविधिक विषय पनि निशुल्क रुपमा पढाइरहनुभएको रहेछ नी होइन ?

हाम्रो गाउँपालिकामा ८ वटा वडा छन् । ८ वटा वडा प्रत्येकबाट सामुदायिक विद्यालयमा पढ्ने उत्कृष्ट ८ जना विद्यार्थीमध्ये चार जनालाई पशु विज्ञान र चार जनालाई बाली विज्ञान पनि निशुल्क पढाउन थालेका छौं । ८ जनाको आवाससहितको पूर्ण खर्च बेहोरेर पढाउदै आएका छौं । बाली विज्ञान पढ्ने चार जनाले हाम्रो गाउँपालिका र पशुविज्ञान पढ्ने चार जनाले इलाममा पढिरहेका छन् ।

उनीहरुको सबै खर्च तपाईंहरुले नै बेहोर्ने हो ?

हामीले उनीहरुको लागि वार्षिक ६८ हजार पाँच सय भर्ना, एक जनाको लागि स्टेनसरी भनेर वार्षिक १० हजार, पोशाक भत्ता पोशाक भत्ता १० हजार र मासिक सात हजार पाँच सय भनेर प्रति विद्यार्थीलाई खातामा नै पैसा हाल्ने व्यवस्था गरेका छौं । यसरी प्रत्येक वर्ष गाउँपालिकाको खर्चमा ८ जनाले निशुल्क प्राविधिक विषय पढ्न पाउनेछन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने हो । तर, दुर्गम हिमाली भेग भएकोले सरकारी सेवा सुविधामा कोही पनि आउन तयार छैनन् । यसैले हामीले गत वर्षदेखि ५० हजार इन्टेन्सिभ दिएर एक जना डाक्टरलाई गाउँपालिकामा टिकाइराहेका छौं ।

साथै एसईई आउने दुई महिना अघिदेखि विद्यार्थीहरु कमजोर रहेका गणित, विज्ञान र अंग्रेजी विषयको निशुल्क कोचिङ कक्षा गराउँदै आएका छौं । यो गतवर्षदेखिकै कार्यक्रम हो । साथै हामीले १ देखि ५ कक्षासम्मका आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक र झोला निशुल्क वितरण गर्दै आएका छौं ।

हामीले कार्यविधि बनाएरै शिक्षामा सुधारका काम थालेका छौं । शिक्षामा पहुँच विस्तार गर्न गाउँपालिकामा रहेका दलित महिला र अपांगता भएका परिचय हुनेहरुलाई बिएड र बिबिएसम्म निशुल्क पढाउने व्यवस्था गरेका छौं । उनीहरुले यो वर्षदेखि फि तिर्नुपर्दैन । उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम भनेर हामीले उच्च शिक्षा पहुँच शिक्षा विस्तार गर्न लागेका हौं ।

शिक्षाका यी कार्यक्रमको चर्चा एकातिर हुँदै गर्दा निक्कै महत्वकांक्षा राखेर प्रत्येक वर्ष गाउँपालिकाको सबै खर्चमा एमबीबीएस पढाएर डाक्टर उत्पादन गर्ने कार्यक्रम ल्याउनुभएको रहेछ । यो कार्यक्रमसम्म कसरी पुग्नुभयो ?

हामीकहाँ प्राथमिक स्वास्थ्य केन्द्र छ । अरु सातवटा स्वस्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य इकाई छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने हो । तर, दुर्गम हिमाली भेग भएकोले सरकारी सेवा सुविधामा कोही पनि आउन तयार छैनन् । यसैले हामीले गत वर्षदेखि ५० हजार इन्टेन्सिभ दिएर एक जना डाक्टरलाई गाउँपालिकामा टिकाइराहेका छौं ।

तीन वर्षभित्र गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुँदैछ । १० शैयाको अस्पतालमा पाँचदेखि ६ जना डाक्टर चाहिन्छ । हामीले वर्षेनी स्थानीय तहबाटै नै डाक्टर उत्पादन गर्न सक्यौं भने उनीहरुमा आफ्नो ठाउँप्रति छुट्टै अपनत्व हुन्छ । यसैले गाउँपालिकाकै पूर्ण खर्चमा वर्षको एकजनालाई डाक्टर पढाउने गरी नीति कार्यक्रम पास गरेका छौं । तर यसरी गाउँपालिकाले आफ्नै खर्चमा उत्पादन गरेको डाक्टरले दुई वर्ष गाउँपालिकामा नै काम गर्नुपर्नेछ । गाउँपालिका यसरी प्रत्येक वर्ष आफ्नै खर्चमा एकजना डाक्टर उत्पादन गर्न सक्यो भने उनीहरुमा छुट्टै अपनत्व हुन्छ ।

अरु विषयमा करोडौं खर्च गर्ने गाउँपालिकालाई आफ्नै ठाउँमा डाक्टर बनाउन वर्षेनी यति रकम खर्च गर्न गाह्रो हुँदैन गाह्रो मान्नु पनि हुँदैन । यसको लागि प्रष्ट कार्यविधि अब केही समयमा नै बनाउँछौं ।

आफ्नो ठाउँ झन् बढी माया जाग्नेछ । यस्तो हुँदा दुई वर्ष होइन १० वर्ष पनि आफ्नै गाउँपालिकामा योगदान गर्न डाक्टर तयार हुन्छन् भन्ने हाम्रो विश्वास छ । अवको शैक्षिक सत्रदेखि कार्यविधि बनाएर एकजनालाई हामीले एमबीबीएस पढाउने निर्णय गरेका हौं । पढ्न सक्ने योग्य विद्यार्थीलाई यस्तो अवसर हुनेछ । तर, हामीले सबैलाई चित्त बुझ्ने गरी विना भेदभाव हुने गरी कार्यविधि बनाउँछौं । हामीले गाउँपालिकाका खर्चमा वर्षको एक जनालाई निशुल्क एमबीबीएस पढाउने भनेर घोषणा गरेपछि यो विषयमा सार्वजनिक चासो देखिएको छ । यसले पनि हामीलाई विना भेदभाव, राजनीतिक पूर्वाग्रहविना सक्षम र योग्य विद्यार्थीलाई एमबीबीएस पढाउन थप जिम्मेवार बनाएको छ ।

एमबीबीएस पढेर डाक्टर बन्न धेरै समय र खर्च लाग्छ भन्ने छ । प्रत्येक वर्ष गाउँपालिका यतिधेरै खर्च बेहार्न तयार भएको हो ?

सरकारले एमबीबीएसका लागि ४५ लाख तोकेको छ । यो रकम एकैपटक लाग्ने पनि होइन प्रत्येक वर्ष ९ लाख तिर्दा पाँच वर्षमा एकजना डाक्टर उत्पादन गर्न गाह्रो हुँदैन भनेर हामीले यो कार्यक्रमलाई प्राथमिकता राखेका हौं । यो वर्षदेखि नै एमबीबीएस पढाउने तयारीका लागि हामीले बजेट छुट्याएका छौं । अरु विषयमा करोडौं खर्च गर्ने गाउँपालिकालाई आफ्नै ठाउँमा डाक्टर बनाउन वर्षेनी यति रकम खर्च गर्न गाह्रो हुँदैन गाह्रो मान्नु पनि हुँदैन । यसको लागि प्रष्ट कार्यविधि अब केही समयमा नै बनाउँछौं ।

कोभिडको महामारी छ यस्तो बेला स्वास्थ्यमा तपाईंहरुका अरु प्राथमिकताचाँहि के छन् ?

शिक्षाबाहेक स्वास्थ्यमा पनि गत वर्षदेखि कोभिडविरुद्ध काम गर्ने स्वास्थ्यकर्मीलाई मासिक प्रत्येक वडामा १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौं । गाउँपालिकाले बनाएको कोभिड आइसोलेसनमा खटिने डाक्टर, अरु तीन जना जना स्वास्थ्यकर्मीलाई दैनिक १५ सय भत्ताको व्यवस्था पनि गरेका छौं । प्रत्येक स्वास्थ्य चौकीमा अक्सिजन, कोभिडको बिरामीलाई घरमा नै गएर परीक्षण, कोभिडका बिरामीलाई निशुल्क एम्बुलेन्सको सेवा पनि दिएका छौं ।

बालविकास कोटामा पढाउने शिक्षिकालाई पहिले ६ हजार दिइदै आएकोमा बजेटबाट दुई हजार बढेको छ । तर सरकारले १५ हजार पुर्याउने घोषणा गरेकोले गाउँपालिकाले नै सबैलाई थप सात हजार दिएर १५ हजार दिनेछ ।

स्वास्थ्य र शिक्षाबाहेकका अरु प्राथमिकताका विषय के के छन् ?

हामीले कृषिमा पनि कार्यक्रम राखेका छौं । हाम्रोमा उपभोक्ता समिति भन्ने छैन । तर गाविस हुँदाका साविक वडाहरुलाई आधार मानेर गाउँपालिकाका पुराना ७२ टोलमा टोल विकास संस्था बनाएका छौं । यसमार्फत् नै हामीले विकासका काममा सहजीकरण र पर्यवेक्षण पनि गरेका छौं । कृषिका लागि पकेट एरिया तोकेका छौं । टोलमा कृषि कार्यक्रमका लागि व्यवसाय गर्नेलाई बजेटको व्यवस्था गरेका छौं । नयाँ उद्यम गर्न चाहने र विदेशबाट फर्किनेहरुलाई पनि उद्यमशील बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!